काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १९ किलो सुनबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पनि अनुसन्धान सुरु गरेको छ ।
मङ्सिर ८ गते विमानस्थलमा भन्सार जाँचका क्रममा सुडानी नागरिकबाट १९ किलो सुन बरामद भएको थियो । विमानस्थलभित्र बरामद भएको अहिलेसम्मकै सबैभन्दा बढी सुन भएकाले यसबारे विस्तृत अनुसन्धान थालिएको सिआइबी स्रोतले जनाएको छ ।
फ्लाई दुबईको फ्लाईट नम्बर एफ२५३९ बाट १९ किलो सुनसहित सुडानी नागरिक २७ वर्षीय मोहम्मद अहमद दफाल्ला साराफिल्डन पक्राउ परेका छन् । सिआइबीले सुन लैजान लागेको व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ परेकाको नाम भने खुलाइएको छैन । तर, सिआइबीका एक अधिकारी भन्छन्, ‘उनले ल्याएको सुन भारत लैजाने गरेको देखिन्छ ।’ ती अधिकारीका अनुसार घटनामा संगठित गिरोहको संलग्नता हुन सक्ने भन्दै सिआइबीले पनि अनुसन्धानमा चासो देखाएको छ । भन्सार अधिकृत पनि भन्छन्, ‘सीआईबीसँगको सहकार्यमा विस्तृत अनुसन्धान भइरहेको छ ।’
डफल्लाले लगाएको कालो ज्याकेट भित्र १० सुनजस्तै अर्ध-ठोस पदार्थ बरामद भएको थियो। अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार डफल्लालाई ३५ लाख सुडानी रुपैयाँ दिने प्रलोभनमा सुनसहित नेपाल पठाइएको थियो । उनलाई दुई दिनको नेपाल भ्रमणको समय दिइएको पनि बताइएको छ ।
२०७५ सालमा चुडामणि उप्रेती ‘गोरे’को व्यवस्थापनमा सुन तस्करी गर्ने ठूलो गुण्डा ध्वस्त भएपछि नेपालमा सुन बरामद भएको थिएन ।



