धर्म/संस्कृतिजहाँ बत्ती बलेपछि मात्र विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पूजा गरिन्छ

जहाँ बत्ती बलेपछि मात्र विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पूजा गरिन्छ

  • सञ्जय मिश्रा

रौतहट- जहाँ बत्ती बलेपछि मात्र विश्वप्रसिद्ध बारा गढीमाई मन्दिरमा पूजा गरिन्छ। त्यही स्थान हो रौतहटको गुजरा नगरपालिका वडा-३ सिमरी गाउँमा रहेको नवनिर्मित गढीमाई मन्दिर।

यो मन्दिरको मंगलबार उद्घाटन गरिएको छ। वडा ३ को विनियोजित रकमबाट सिमरीमा ऐतिहासिक गढिमाई मन्दिर निर्माण भई मंगलबार विधिवत् रूपमा मेयर सन्तलाल चौधरीले उदघाटन गरेका हुन्। वडाको कोषबाट कुल १० लाख रुपैयाँको लागतमा मन्दिर निर्माण कार्य सम्पन्न भएको वडाध्यक्ष अशोक चौधरीले बताएका छन्। यसअघि सानो तथा जीर्ण मन्दिरमा पूजा हुँदै आएको थियो।

सिमरी गाउँस्थित नवनिर्मित गढीमाई मन्दिरमा बत्ती बालेर पूजा गरेपछि मात्र विश्वप्रसिद्ध बाराको ठूलो गढीमाई मन्दिरमा बत्ती बालेर पूजा सुरू हुने परम्परा रहेको छ।

यस पटक सिमरीस्थित गढीमाई मन्दिरका पुजारी तान्त्रिक उमाशंकर धामी कछडिया उक्त मन्दिरमा विधिवत पूजा गरेर बारा बरियारपुरस्थित गढीमाई मन्दिर पुगेपछि मात्र त्यहाँ पूजा सुरू हुने बताइएको छ। यसअघि उनका बुवा दुखन धामी कछडिया तान्त्रिक पुजारी रहेका थिए।

चार वर्षअघि उनको मृत्यु भएपछि परम्परा अनुसार उनका जेठा छोरा उमाशंकर धामी कछडियाले तान्त्रिक पुजारीको रूपमा जिम्मेवारी पाएका छन्।

प्रत्येक पाँच वर्षमा विश्वप्रसिद्ध बारास्थित गढीमाई मन्दिर लाग्ने मेलामा नेपाल-भारतलगायत संसारको धेरै देशबाट लाखौं मानिस मेला भर्न आउने गर्दछन्।

पाँच वर्षे मेलाको अवसरमा गढीमाई मन्दिरमा सेतो मुसा, बोका, परेवा, सुँगुर, राँगा गरी पञ्चबली दिने परम्परा रहेको छ।

सबैभन्दा बढी बली चढाउने भएकाले बाराको वरियारपु स्थित गढीमाई मेलाले अन्तर्राष्ट्रिय चर्चा छ।

मन्दिर व्यवस्थापन पक्षबाट पञ्चबली चढाएपछि सर्वसाधारणले भाकलअनुसार बली चढाउने गर्छन्।

गढीमाई मन्दिरमा तान्त्रिक धामीले आफ्नो शरीरको पाँच स्थानबाट रगत निकालेर चढाएरपछि बली सुरू हुन्छ।

अघिल्लो मेलामा ३५ हजार भन्दा बढी राँगा र हजारौंको संख्यामा बोकाको बली भएको गढीमाई पूजा व्यवस्थापन समितिले जनाएको छ। भाकल पूरा भएर मेला भर्न पूजा गर्न आउने भक्तजनहरूले हजारौं परेवा उडाउने गर्छन्।

बारा गढीमाई मन्दिरमा पूजा हुनुअघि रौतहट गुजारा नगरपालिका-३ सिमरी गाँउमा रहेको गढीमाई मन्दिरमा तान्त्रिक पुजारी उमाशंकर धामी (कछडिया)ले विशेष पूजा, आराधाना गरेसँगै आफ्नो शरीरको पाँच ठाउँबाट रगत निकाली नर बलीस्वरुप रगत चढाउने परम्परा रहेको छ। त्यसपछि रांगा, बोका, परेवा र पाठीको बली दिएर मन्दिरमा बत्ती बालेर तान्त्रिक पुजारी धामी बारा गढीमाई मन्दिरमा जाने गर्दछन्।

तान्त्रिक पूजारी कछडिया, बारा गढीमाईका मूल पुजारी मंगल चौधरी, अन्य पुजारीहरूका साथमा रही रातभर पूजा हुन्छ। पूजा-आराधनाको प्रभावले ब्रह्मस्थानमा अचानक आफैं बत्ती बल्छ र पञ्चबली हुने गरेको पुजारी उमाशंकरले बताएका छन्।

परापूर्वकलदेखि हिन्दु धर्म संस्कृतिमा पशु बलीलाई शक्तिसँग जोडेर हेर्ने प्रचलन रहिआएको छ। शक्तिस्वरुपा देवीलाई खुसी बनाउन बली अनिवार्य भएको प्रचलन रहिआएको छ।

विश्वप्रसिद्ध पञ्च वर्षीय गढीमाई मेला यस वर्ष आगामी मन्दिरमा लाग्दैछ। गढीमाई मेला २०८१ मंसिर १ गते तदनुसार सन् २०२४ नम्बर १६  तारिखदेखि मंसिर ३० डिसेम्बर १५ तारिख एक महिनासम्म मेला लाग्ने छ।

गढीमाई मन्दिरमा विशेष पूजा तथा राँगा बली मंसिर २३ गते तदनुसार डिसेम्बर ८ तारिक र बोका बली त्यसको भोलिपल्ट मंसिर २४ गते डिसेम्बर ९ तारिख हुने मेला व्यवस्थापन समितिले सार्वजनिक गरेको छ।

बारा गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा लाग्ने एक महिने मेलाको लागि स्थानीयहरू एक वर्ष अगाडिदेखि तयारी सुरू गर्ने गर्दछन्। सो क्षेत्रको प्रत्येक घरमा आफन्तहरू मेला हेर्न महिनाभरि बस्ने कारण आ-आफ्नो क्षमता अनुसार खाने/बस्ने व्यवस्था गर्ने गरेको स्थानीयहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img