हेटौँडा | परम्परागत रूपमा पुस्तौँदेखि आत्मनिर्भर जीवनशैलीको माध्यम बन्दै आएका प्राय सीपहरू प्रमाणपत्रमा परिणत भएका थिएनन्। केही भएपनि राजधानी धाउनुपर्ने बाध्यता थियो ।
तर हाल मकवानपुरको जिल्ला लघु उद्यमी समूह संघ (डि-मेगा)को अगुवाइमा हेटौँडाबाट सीप प्रमाणीकरणको प्रक्रिया सुरु भएको छ। सीप प्रमाणिकरणले श्रमलाई केवल औपचारिक बनाउने होइन, रोजगारीका नयाँ अवसरहरूतर्फ मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।
“देशभर हजारौंको हातमा सीप छ,” डि-मेगाकी सचिव मेनका श्रेष्ठ भन्छिन्, “तर त्यस सीपको कुनै प्रमाण नहुँदा उनीहरू श्रम बजारमै ओझेलमा परिरहेका छन्।”
यही समस्याको समाधानस्वरूप, डि-मेगाले राष्ट्रिय सीप परीक्षण बोर्ड (NSTB) सँगको सहकार्यमा हेटौँडामै ढाका बुनाइ सीपमा प्रमाणीकरण प्रक्रिया सुरु भएको छ ।
“पहिलेसम्म प्रमाणिकरणका लागि भक्तपुर जानुपर्ने बाध्यता थियो,” श्रेष्ठ बताउँछिन्, “अब हेटौंडामै परीक्षण सम्भव भएको छ, जसले महिलाहरूको आत्मबल मात्र बढाउँदैन, भविष्यका अवसर पनि सिर्जना गर्छ।”
डि-मेगा २०७२ सालदेखि स्वरोजगारमा आधारित महिलाहरूलाई सशक्त बनाउन क्रियाशील छ। तर अब संस्था ‘सहजीकरणकर्ता’ मात्र होइन, ‘नेतृत्वकर्ता’को रूपमा पनि सीप प्रमाणीकरणलाई अगाडि बढाइरहेको छ।
ढाकासँगै सिलाई लेवल ३, बाँस/बेतको काम, हाते बुनाई जस्ता अन्य परम्परागत सीपहरूको सिप सेन्टर ल्याउने पहल भैरहेको उनले जानकारी दिइन्।
“विगतमा यस्ता सीपहरूलाई घरेलु कामको रूपमा मात्र हेरिन्थ्यो,” श्रेष्ठ भन्छिन्, “तर अब यिनै सीप प्रमाणित भएर अन्तर्राष्ट्रिय श्रम बजारतर्फ जाने ‘गोल्डेन पासपोर्ट’ बन्ने सम्भावना देखिएको छ।”
मलेशिया, कोरिया, युएई जस्ता मुलुकहरूमा प्रमाणित श्रमिकहरूको माग उच्च रहेको र सीप प्रमाणीकरणले वैदेशिक रोजगारीमा पहुँच सहज बनाउने अपेक्षा गरिएको छ।
हेटौँडा उपमहानगरपालिकाले राष्ट्रिय सिप परिक्षण समितिसँग सहकार्य गर्दै जिल्लामै पहिलो पटक ढाका कपडा बुनाईको सिप परिक्षण सञ्चालन गर्ने सूचना सार्वजनिक समेत गरिसकेको छ ।



