हेटौँडा | बागमती प्रदेशको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन नेकपा एमाले र नेपाली कांग्रेसले आफ्नो-आफ्नो संसदीय दललाई ह्विप जारी गरेका छन्। नेकपा एमालेका प्रमुख सचेतक एकालाल श्रेष्ठले साउन २७ गते हुने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भई बानियाँको पक्षमा मतदान गर्न निर्देशन दिएका छन्।
त्यसैगरी, नेपाली कांग्रेसले पनि आफ्ना ३७ सांसदलाई बानियाँको पक्षमा मतदान गर्न निर्देशन दिएको छ। कांग्रेस संसदीय दलका सदस्य सचिव मीनकृष्ण महर्जनले सो ह्विप जारी गरेका हुन्।
प्रदेशसभामा ११० सदस्य छन् र बहुमतका लागि कम्तीमा ५६ सांसदको समर्थन आवश्यक छ। कांग्रेस र एमालेको कुल समर्थन ६४ रहेको हुँदा बानियाँलाई विश्वासको मत सहजै प्राप्त हुने देखिन्छ।
तर, कांग्रेस भित्रको विवादका कारण १४ सांसदले ह्विप नमान्ने चेतावनी दिएका छन्। उनीहरू प्रमुख विपक्षी बहादुरसिंह लामाको पक्षमा रहेका छन्। लामाले ३ जना सांसदलाई मन्त्रीमा नियुक्त गर्न माग गरेका थिए, तर उनीहरूको माग पूरा नभएपछि विश्वासको मत नदिन सक्ने संकेत दिएका छन्।
मुख्यमन्त्री बानियाँले संविधानको धारा १६८ उपधारा ४ र प्रदेशसभा नियमावलीको नियम १४३ अनुसार साउन २७ गते दिउँसो ४ बजे विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरेका छन्।



