हेटौँडा । विद्यालय शिक्षा विधेयक, २०८० का केही प्रावधानविरुद्ध निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मकवानपुरले बुधबार पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम गरेको छ।
प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा पदाधिकारी, पत्रकार र निजी विद्यालयका प्रतिनिधि गरी करिब ८० जना सहभागी भएका थिए। कार्यक्रममा कम्पनी ऐनअनुसार दर्ता भएका विद्यालयलाई गैर–नाफामूलक बनाउने, पूर्ण छात्रवृत्ति व्यवस्था, सेवासुविधामा रोकलगायतका प्रावधान विभेदकारी रहेको भन्दै खारेज गर्न माग गरिएको थियो।
प्याब्सनले छात्रवृत्ति वितरणको अधिकार विद्यालयमै रहने गरी पारदर्शी समिति गठन हुनुपर्ने, विद्यालयले उपलब्ध गराउँदै आएको यातायात, पोशाक, पाठ्यसामग्री र खानपानसम्बन्धी प्रावधान हटाउनुपर्ने माग पनि अघि सारेको छ। साथै सामुदायिक विद्यालयका विद्यार्थीलाई मात्र प्राविधिक र उच्च शिक्षाको अवसर दिने व्यवस्था अन्यायपूर्ण भएको भन्दै तत्काल खारेज गर्नुपर्ने भनाइ आएको थियो।
कार्यक्रममा पत्रकारहरुले विद्यालय सञ्चालक र सरकारबीचको बुझाइ अभावका कारण विद्यार्थीको पठनपाठन प्रभावित नहुने सुनिश्चितता आवश्यक रहेको सुझाव दिए।
शिक्षा विधेयकविरुद्ध नेशनल प्याब्सन, एनएमए, हिसानलगायत संगठनहरुले संयुक्त आन्दोलन सुरु गरिसकेका छन्। प्याब्सन मकवानपुरले भदौ १८ देखि २५ सम्म अन्तरक्रिया र सभा–भेटघाटमार्फत आन्दोलनलाई अगाडि बढाउने जनाएको छ।



