हेटौँडा | आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा चुनावी माहोल तीव्र बन्दै गएको छ। उम्मेदवारी दर्ता प्रक्रिया सकिएसँगै यसपटक मकवानपुरको चुनावी चित्र केवल दलगत प्रतिस्पर्धामा मात्र सीमित नभई उम्मेदवारहरूको शैक्षिक योग्यता, पेशागत अनुभव र सामाजिक पृष्ठभूमिको फराकिलो विविधताले चुनावलाई थप चासोको विषय बनाएको छ।
निर्वाचन आयोगमा दर्ता विवरणअनुसार मकवानपुर–१ र २ गरी कुल ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये २९ जना विभिन्न राजनीतिक दलका र १५ जना स्वतन्त्र उम्मेदवार छन्। उम्मेदवार सूची हेर्दा दन्त चिकित्सक, कानुनविद्, इन्जिनियर, पत्रकार, पूर्वसैनिकदेखि साधारण लेखपढ गरेका स्थानीय अनुहारसम्म एकै चुनावी मैदानमा देखिएका छन्।
मकवानपुर–२ बाट नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौला उच्च शैक्षिक योग्यता भएका उम्मेदवारमध्ये पर्छन्। उनले एमबीएस, एमए र कानुनमा स्नातक अध्ययन पूरा गरेका छन्। उनी हाल प्रतिनिधिसभा सदस्य भइसकेका अनुभवी सांसदसमेत हुन्।
उज्यालो नेपाल पार्टीका मकवानपुर–२ कै उम्मेदवार प्रविन कुमार स्याङ्तान पेशाले दन्त चिकित्सक हुन्। त्यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्तोष विष्ट स्नातकोत्तर तह उत्तीर्ण गर्दै दश वर्षभन्दा बढी पत्रकारिता र निजामती सेवाको अनुभव सहित चुनावी प्रतिस्पर्धामा छन्।
मकवानपुर–१ बाट उज्यालो पार्टीका सुरेन्द्र लामा कम्प्युटर इन्जिनियर हुन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशान्त उप्रेती २५ वर्षे स्नातक उत्तीर्ण युवा उम्मेदवारका रूपमा मैदानमा छन्।
यसपटकको निर्वाचनमा साधारण लेखपढ मात्र उल्लेख गरेका उम्मेदवारहरूको उपस्थिति पनि उल्लेख्य देखिएको छ। जनता समाजवादी पार्टीका दीपक सिन्तान, आम जनता पार्टीका सूर्य राई, स्वतन्त्र उम्मेदवार मठु पुलामी मगर, छविलाल वाइबा लगायतले आफ्नो योग्यता साधारण लेखपढ भएको विवरण निर्वाचन आयोगमा पेस गरेका छन्। यी उम्मेदवारहरूले औपचारिक शिक्षाभन्दा स्थानीय समाजसँगको सम्बन्ध, जीवन अनुभव र प्रत्यक्ष भोगाइ लाई आफ्नो मुख्य आधार बनाइरहेका छन्।
पूर्वसैनिकदेखि सामाजिक अभियन्तासम्म
उम्मेदवारहरूको अनुभव पनि उत्तिकै विविध छ। स्वतन्त्र उम्मेदवार अमर दंगाल १८ वर्ष नेपाली सेनामा सेवा गरेको पृष्ठभूमिसहित चुनावी मैदानमा छन्। राप्रपाका दीपक बहादुर सिंह र एमालेका रामेश्वर राना दशकौँदेखि राजनीतिमा सक्रिय अनुहार हुन्।
सामाजिक क्षेत्रमा सक्रिय सुशिला सुवेदी, महेश नेपाली जस्ता उम्मेदवारहरूले सामाजिक सेवाको अनुभवलाई चुनावी एजेन्डा बनाएका छन्। उमेरका हिसाबले पनि २५ वर्षदेखि ६६ वर्षसम्मका उम्मेदवार मैदानमा छन्, जसले निर्वाचनलाई पुस्तागत रूपमा पनि बहसको विषय बनाएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यसपटकको निर्वाचनमा मतदाताले शैक्षिक योग्यता, विगतको कार्यसम्पादन, स्थानीय पहुँच र स्पष्ट एजेन्डा लाई प्राथमिकता दिन सक्ने सम्भावना छ। साधारण लेखपढ भएका उम्मेदवारहरूको भुइँमान्छेसँगको सम्बन्ध र उच्च शिक्षा हासिल गरेका उम्मेदवारहरूको नीति निर्माण क्षमताबीचको प्रतिस्पर्धाले मकवानपुरको चुनावी इतिहासमा नयाँ आयाम थप्न सक्ने विश्लेषण गरिएको छ।



