हेटौँडा । मकवानपुरमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३३२ वटा सवारी दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालय बागमतीका अनुसार सो अवधिमा जिल्लामा ८५ जना गम्भीर घाइते र ६२४ जना सामान्य घाइते भएका छन्। उपत्यकाबाहेक बागमती प्रदेशका १० जिल्लामध्ये दुर्घटनाबाट मृत्यु हुने संख्याका आधारमा मकवानपुर चितवनपछि दोस्रो स्थानमा देखिएको छ।
गत आर्थिक वर्ष २०८१/०८२ मा मकवानपुरमा ४०७ दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको थियो। तर, चालु आर्थिक वर्षको १० महिनामै मृत्यु संख्या गत वर्षभन्दा बढी पुगेपछि जिल्लाको सडक सुरक्षा अवस्था थप चुनौतीपूर्ण बनेको छ। प्रदेश प्रहरीका अनुसार बागमतीका १० जिल्लामा सो अवधिमा १ हजार ६५८ दुर्घटना हुँदा २८१ जनाको मृत्यु र ३ हजार २९६ जना घाइते भएका छन्।
मकवानपुरका मुख्य राजमार्ग, पहाडी सडकखण्ड, साँघुरा मोड, तीव्र गति र चालकको लापरबाही दुर्घटनाका मुख्य कारणका रूपमा देखिएका छन्। गत पुसमा भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरीखेतमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख बच्चुराम फुयालले तीव्र गति, चालकको लापरबाही, मानवीय त्रुटि, यात्रुको असावधानी र सडक संरचनासम्बन्धी समस्या दुर्घटनाका मुख्य कारण रहेको बताए। उनका अनुसार मनहरी गाउँपालिका क्षेत्रअन्तर्गत लामिटार, हात्तीढुङ्गा, तिनताली पुल र ज्यामिरे क्षेत्रमा दुर्घटना बढी हुने गरेको छ।
“तीव्र गति र चालकको लापरबाही दुर्घटनाका मुख्य कारण हुन्,” फुयालले भने, “कतिपय अवस्थामा यात्रु आफैं पनि असावधानीपूर्वक चढ्ने, झर्ने, झुण्डिएर यात्रा गर्ने र सडक पार गर्दा सावधानी नअपनाउने कारणले दुर्घटना हुने गरेको छ।”
दुई पाङ्ग्रे सवारी दुर्घटनाको संख्या पनि उच्च देखिएको छ। प्रदेश प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म बागमतीका १० जिल्लामा १ हजार ३५० दुई पाङ्ग्रे सवारी दुर्घटनामा परेका छन्। मकवानपुरमा मोटरसाइकल दुर्घटना बढ्नुमा मादक पदार्थ सेवन, तीव्र गति, हेल्मेट प्रयोग नगर्नु, तीन जना चढेर यात्रा गर्नु र रातको समयमा लापरबाहीपूर्वक सवारी चलाउनु मुख्य कारण रहेको ट्राफिक प्रहरीले जनाएको छ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विद्यालय, टोल र चालक सचेतना, मापसे तथा लापसे जाँच, टाइम कार्ड प्रणाली र राजमार्ग निगरानी बढाएको जनाएको छ। फुयालका अनुसार वैशाखमा गरिएको लापसे परीक्षणमा १४ जनामध्ये ७ जना र जेठमा ६५ जनामध्ये ४ जनामा पोजेटिभ देखिएको थियो।
मकवानपुरमा टिपर तथा मालवाहक सवारी, ओभरलोड, कागजपत्र अभाव र सडक किनारमा जथाभावी पार्किङ पनि जोखिमका कारण बनेका छन्। पछिल्लो एक महिनामा मात्रै विभिन्न कारबाहीबाट करिब २० देखि २२ लाख रुपैयाँ राजस्व संकलन भएको फुयालले जानकारी दिए।
तर, दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको जनशक्ति पर्याप्त नभएको कार्यालयले जनाएको छ। मकवानपुरमा ट्राफिक प्रहरीको दरबन्दी ३३ जना मात्रै छ। हाल काजसहित करिब ४० जना परिचालन भए पनि १२ देखि १४ वटा युनिटमा बाँडिएर काम गर्नुपर्दा प्रभावकारी निगरानीमा समस्या भएको फुयालले बताए।
फुयालले सडक सुरक्षा प्रहरीको मात्र जिम्मेवारी नभई स्थानीय तह, सडक विभाग, यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी, चालक, यात्रु र नागरिक सबैको साझा दायित्व भएको बताए। “सानो लापरबाहीले जीवनमा ठूलो क्षति हुन सक्छ,” उनले भने, “सबैले ट्राफिक नियम पालना गर्ने हो भने दुर्घटना घटाउन सकिन्छ।”



