हेटौँडा । हेटौँडा–५ स्थित हेटौँडा सिटी कलेजले यस शैक्षिक सत्रदेखि स्नातक तहको बीबीएस संकायमा ४० जना विद्यार्थीलाई निःशुल्क अध्ययन गराउने भएको छ । कलेजले त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित चारवर्षे बीबीएस कार्यक्रम प्रथम वर्षदेखि चौथो वर्षसम्म निःशुल्क अध्ययनको अवसर उपलब्ध गराउने जनाएको हो ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा कलेजका प्रमुख सुमन्त सिलवालले बीबीएस कार्यक्रमअन्तर्गत ४० जना विद्यार्थीलाई कुनै पनि भेदभाव नगरी निःशुल्क अध्ययनको अवसर प्रदान गरिने बताए । उनका अनुसार कोटाभित्र सबैभन्दा पहिले भर्ना हुने विद्यार्थीले निःशुल्क अध्ययन गर्न पाउनेछन् ।
‘कसैलाई काखा र कसैलाई पाखा गर्ने छैनौँ । ४० जनाको कोटामा सबैभन्दा पहिले भर्ना हुने विद्यार्थीले निःशुल्क अध्ययन गर्न पाउनेछन्,’ सिलवालले भने ।
कलेजका प्राचार्य श्रीबहादुर कार्कीले आर्थिक तथा अन्य विविध कारणले उच्च शिक्षाबाट वञ्चित भएका तर अध्ययन गर्ने इच्छा भएका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको बताए । उनले निःशुल्क अध्ययनसँगै विद्यार्थीलाई सीपमूलक तालिमसमेत प्रदान गरिने जानकारी दिए ।
उनका अनुसार कार्यक्रमअन्तर्गत छनोट भएका विद्यार्थीलाई निःशुल्क लेखा तालिम, कम्प्युटर प्रशिक्षणलगायतका विभिन्न सीपमूलक तालिम दिइनेछ । अध्ययन पूरा गरेपछि विद्यार्थीलाई व्यवसाय सञ्चालन तथा रोजगारी सिर्जना गर्न सक्षम बनाउने वातावरण तयार गर्ने कलेजको योजना रहेको कार्कीले बताए ।
कक्षा १२ उत्तीर्ण गरी आवश्यक जीपीए प्राप्त गरेका विद्यार्थीले भर्ना हुन पाउनेछन् । त्रिभुवन विश्वविद्यालयको नियमअनुसार परीक्षा फाराम तथा अनिवार्य शुल्कबाहेक अन्य कुनै शुल्क विद्यार्थीले तिर्नु नपर्ने कलेजले स्पष्ट पारेको छ ।
विद्यार्थीलाई शैक्षिक रूपमा थप सक्षम बनाउन कलेजले तयारी कक्षासमेत सञ्चालन गर्ने जनाएको छ । वि.सं. २०७० मा जिल्लाकै पहिलो आईटी कलेजका रूपमा स्थापना भएको हेटौँडा सिटी कलेजमा हाल विद्यालय र कलेज तह गरी करिब एक हजार २०० विद्यार्थी अध्ययनरत छन् ।
कलेजले बीबीएस संकायमा निःशुल्क अध्ययनको कार्यक्रम आगामी वर्ष पनि निरन्तरता दिने जनाएको छ ।



