देशबागमती प्रदेशहेटौँडाका मुख्य चोकमा ट्राफिक लाइट जडान गरिने

हेटौँडाका मुख्य चोकमा ट्राफिक लाइट जडान गरिने

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश राजधानी हेटौँडाका मुख्य चोकहरूमा आधुनिक ट्राफिक लाइट जडान गरिने बताएका छन्। राजधानी सहर भए पनि हेटौँडामा ट्राफिक लाइट प्रणाली प्रभावकारी रूपमा सञ्चालनमा नरहेको भन्दै उनले ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने तयारी भइरहेको बताए।

बिहीबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा आयोजित ट्राफिक सुरक्षा तथा व्यवस्थापनसम्बन्धी एकदिवसीय समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले हेटौँडाका मुख्य चोक, मुख्यमन्त्री कार्यालय जाने सडकखण्ड र अन्य व्यस्त क्षेत्रमा ट्राफिक लाइटिङ प्रणाली विस्तार गरिने बताए। उनले ट्राफिक प्रहरी, यातायात व्यवसायी र सम्बन्धित निकायसँग समन्वय गरेर ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउने बताए।

बागमती प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालयको सहकार्यमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्साल र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको आयोजनामा कार्यक्रम भएको हो।

मुख्यमन्त्री बानियाँले यातायात क्षेत्र बागमती प्रदेश सरकारको प्रमुख राजस्व स्रोत भएको भन्दै यसलाई व्यवस्थित, डिजिटल र सेवाग्राहीमैत्री बनाउनुपर्ने बताए। उनले घरबाटै राजस्व तिर्न सकिने, कार्यालयमा लाइन बस्नुपर्ने बाध्यता कम हुने र पटके परमिट प्रदेशका विभिन्न जिल्लाबाट लिन मिल्ने व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी दिए।

उनले ट्राफिक चेकजाँच आवश्यक भए पनि यात्रुबाहक सवारीलाई जहाँसुकै पटक–पटक रोक्दा व्यवहारिक नहुने बताए। मापसेलगायत कारण यात्रा असुरक्षित हुने भएकाले चेकजाँच जरुरी रहेको तर चेकजाँच प्रणालीलाई पनि व्यवस्थित र व्यवहारिक बनाउनुपर्ने उनको भनाइ थियो।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सवारी दुर्घटनाको प्रमुख कारण चालकको लापरवाही रहेको बताए। करिब ८० प्रतिशत दुर्घटना चालककै लापरवाहीका कारण हुने देखिएको उल्लेख गर्दै उनले मोबाइल प्रयोग गर्दै सवारी चलाउने, कागजातबिना सवारी सञ्चालन गर्ने र ट्राफिक नियम नमान्ने प्रवृत्ति चुनौतीका रूपमा रहेको बताए।

अधिकारीले दुर्घटना न्यूनीकरणका लागि चालक सचेतना, सिसिटिभी निगरानी, आईसीटीमा आधारित प्रणाली, चालक तथा सहचालकको अभिलेख, तालिम र कारबाही संयन्त्र प्रभावकारी बनाउनुपर्ने बताए। हरेक ठाउँमा ट्राफिक प्रहरी राखेर मात्रै समस्या समाधान नहुने उनको भनाइ थियो।

बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीले ट्राफिक दुर्घटना प्रहरीको मात्रै जिम्मेवारी नभई व्यक्ति, परिवार, समाज, स्थानीय तह र राज्य सबैको साझा दायित्व भएको बताए। सीमित जनशक्तिले मात्रै दुर्घटना न्यूनीकरण सम्भव नहुने भन्दै उनले प्रविधि, सचेतना र समन्वयलाई सँगै अघि बढाउनुपर्ने बताए।

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले दुर्घटना न्यूनीकरणका लागि जनशक्ति मात्रै नभई प्रविधिको प्रयोग, सडक सुरक्षा उपकरण, रोड फर्निचर र सरोकारवाला निकायबीचको समन्वय आवश्यक रहेको बताए। उनले गोष्ठीबाट आएका निष्कर्षलाई आगामी कार्ययोजनामा समेट्न सके दुर्घटना र मृत्युदर घटाउन सहयोग पुग्ने बताए।

गोष्ठीमा प्रदेशभर भएका सवारी दुर्घटना, दुर्घटनाका कारण, न्यूनीकरणका उपाय, ट्राफिक जनशक्ति, प्रविधि र सडक सुरक्षासम्बन्धी पूर्वाधारका विषयमा छलफल गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img