हेटौँडा । तेस्रो बागमती खेलकुद प्रतियोगितामा काठमाडौंले समग्र पदक तालिकामा अग्रता कायम गरेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा असार १ गतेदेखि सुरु भएको प्रतियोगिता फुटबलको फाइनल खेलसँगै मंगलबार हेटौँडाको गौरीटार रंगशालामा समापन हुने परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिए ।
हालसम्मको पदक तालिकाअनुसार काठमाडौंले ३१ स्वर्ण, २२ रजत र २५ कास्य गरी कुल ७८ पदक जितेको छ । काठमाडौंलाई पछ्याइरहेको चितवनले २९ स्वर्ण, २७ रजत र २७ कास्य गरी ८३ पदक हात पारेको छ । तेस्रो स्थानमा रहेको ललितपुरले २९ स्वर्ण, २२ रजत र ३० कास्य गरी ८१ पदक जितेको छ । कुल पदक सङ्ख्यामा चितवन अगाडि रहे पनि स्वर्ण पदकका आधारमा काठमाडौं शीर्ष स्थानमा रहेको सदस्य सचिव लामाले बताए । फुटबल र पौडीका पदक भने अन्तिम तालिकामा समावेश हुन बाँकी रहेको उनले जानकारी दिए ।
प्रतियोगिताअन्तर्गत फुटबलको फाइनल खेल मंगलबार हुनेछ । पुरुषतर्फको उपाधिका लागि मकवानपुर र चितवनबीच प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ चितवन र काठमाडौं उपाधिका लागि भिड्नेछन् । प्रतियोगिता हेटौँडा, चितवन, ललितपुर र काठमाडौंका विभिन्न खेल मैदान तथा कभर्डहलमा सञ्चालन गरिएको थियो । प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाका करिब ३ हजार खेलाडी सहभागी भएको लामाले बताए ।
यसैबीच, प्रतियोगिताअन्तर्गत फूलकन्ट्याक कराँते र आईटिएफ तेक्वान्दोमा काभ्रेपलान्चोकले उत्कृष्ट प्रदर्शन गरेको छ । फूलकन्ट्याक कराँतेमा काभ्रेपलान्चोक ३ स्वर्ण, १ रजत र ३ कास्य गरी ७ पदकसहित प्रथम भएको हो । ललितपुर २ स्वर्ण र ३ रजतसहित दोस्रो हुँदा मकवानपुर २ स्वर्ण, २ रजत र ६ कास्यसहित तेस्रो स्थानमा रह्यो । फूलकन्ट्याक कराँतेमा १२ स्वर्ण, १२ रजत र २४ कास्य गरी कुल ४८ पदकका लागि खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । पुरुषतर्फ ललितपुरका निरोज नगरकोटी र महिलातर्फ रसुवाकी सुप्रिया तामाङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएको कार्यक्रम संयोजक शुक्रबहादुर माझीले जानकारी दिए ।
आईटिएफ तेक्वान्दोमा पनि काभ्रेपलान्चोक प्रथम भएको छ । काभ्रेपलान्चोकले ११ स्वर्ण, ४ रजत र ६ कास्य गरी २१ पदक जितेको हो । भक्तपुर ६ स्वर्ण, ९ रजत र ७ कास्यसहित दोस्रो हुँदा काठमाडौं ३ स्वर्ण, ३ रजत र ६ कास्यसहित तेस्रो स्थानमा रहेको माझीले बताए ।
ब्याडमिन्टनमा भने ललितपुर प्रथम भएको छ । ललितपुरले २ स्वर्ण, २ रजत र २ कास्य गरी ६ पदक जितेको हो । समान २ स्वर्ण, २ रजत र १ कास्य जितेको चितवन दोस्रो भयो भने १ स्वर्ण, १ रजत र १ कास्यसहित धादिङ तेस्रो स्थानमा रह्यो । ब्याडमिन्टनमा महिला र पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको आयोजकले जनाएको छ ।
परिषद्का सदस्य सचिव लामाका अनुसार प्रदेशस्तरीय खेलकुदमार्फत जिल्लास्तरका खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण उपलब्ध गराउने, खेल प्रतिभा पहिचान गर्ने र प्रदेशको खेलकुद संरचना सुदृढ बनाउने उद्देश्य राखिएको छ । प्रतियोगिताको अन्तिम पदक तालिका फुटबल र पौडीको नतिजा समावेश भएपछि सार्वजनिक गरिने जनाइएको छ ।



