बकैया । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करार सेवामा कार्यरत कर्मचारीको पारिश्रमिक १० प्रतिशत वृद्धि गर्ने भएको छ । गाउँपालिकाले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ८९ करोड ५० लाख ४४ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव गर्दै करार कर्मचारीको खाइपाइ आएको पारिश्रमिकमा १० प्रतिशत वृद्धि गर्ने र उनीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने व्यवस्था गरेको हो ।
गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष भक्तबहादुर खत्रीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को दीर्घकालीन सोचलाई आत्मसात गर्दै स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र वातावरणमैत्री पूर्वाधार विकासलाई समृद्ध बकैया निर्माणको आधार मानेर बजेट तर्जुमा गरिएको बताउनुभयो । सीमित स्रोतसाधनका बीच सेवा प्रवाह, विकास निर्माण र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको उहाँको भनाइ छ ।
प्रस्तावित बजेटमध्ये चालुतर्फ ६३ करोड १३ लाख १९ हजार रुपैयाँ अर्थात् ७१.४३ प्रतिशत र पुँजीगततर्फ २५ करोड ३७ लाख २५ हजार रुपैयाँ अर्थात् २८.५७ प्रतिशत खर्च प्रस्ताव गरिएको छ । खर्च बेहोर्ने स्रोतमध्ये संघीय सरकारबाट वित्तीय समानीकरण, राजस्व बाँडफाँट र सशर्त अनुदानसहित ४९ करोड ७३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै बागमती प्रदेश सरकारको विभिन्न अनुदानबाट १३ करोड ५२ लाख ८८ हजार ५१५ रुपैयाँ, आन्तरिक स्रोतबाट ४ करोड ६७ लाख ७५ हजार ८८५ रुपैयाँ र स्थानीय राजस्व बाँडफाँटबाट ५ करोड ५० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
बजेटमा सामाजिक विकास क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ । सामाजिक विकासतर्फ १० करोड ३३ लाख ५० हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ ९ करोड ३७ लाख ५० हजार रुपैयाँ र आर्थिक विकासतर्फ ३ करोड ९६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ । शिक्षाको गुणस्तर सुधार र विद्यालय भौतिक सुधारका लागि ४ करोड ३५ लाख रुपैयाँ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवर्द्धनका लागि २ करोड ५६ लाख रुपैयाँ छुट्याइएको छ ।
कृषिको व्यवसायीकरण र आधुनिकीकरणमार्फत गाउँपालिकालाई खाद्यान्न, दूध र मासुमा आत्मनिर्भर बनाउने लक्ष्यसहित २ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको छ । वातावरण तथा विपद् व्यवस्थापनतर्फ ६२ लाख ७५ हजार रुपैयाँ र संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनतर्फ ६ करोड ३५ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधार विकासका आयोजनामा नागरिकको अपनत्व र स्वामित्व बढाउन १० प्रतिशत लागत साझेदारीको नीति अवलम्बन गरिएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को समीक्षा गर्दै उपाध्यक्ष खत्रीले जेठ मसान्तसम्म गाउँपालिका स्तरमा ७० प्रतिशत भौतिक प्रगति हासिल भएको बताउनुभयो । असार मसान्तसम्म पुँजीगत बजेटको भौतिक प्रगति ८५ प्रतिशत पुग्ने संशोधित अनुमान रहेको उहाँले उल्लेख गर्नुभयो । बजेट कार्यान्वयन चुनौतीपूर्ण भए पनि जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज र कर्मचारीको सहयोगमा प्रभावकारी कार्यान्वयन हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।



