बागमती प्रदेशमकवानपुर४० दिनको मर्मतपछि चल्यो हेटौँडा कपडा उद्योगको तान, प्रारम्भिक परीक्षण सफल

४० दिनको मर्मतपछि चल्यो हेटौँडा कपडा उद्योगको तान, प्रारम्भिक परीक्षण सफल

हेटौँडा । साढे दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रारम्भिक परीक्षण सफल भएको छ। नेपाली सेनाका करिब ४० जना प्राविधिक तथा विभिन्न दर्जाका सैनिकले करिब ४० दिनदेखि गरेको सरसफाइ र मेसिन मर्मतपछि शनिबार उद्योगका पुराना तान (लुम) चलाएर परीक्षण उत्पादन गरिएको हो।

सरकारले उद्योगका पुराना मेसिन मर्मत गरी परीक्षण उत्पादन गर्ने जिम्मेवारी नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयलाई दिएको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई महिनाभित्र प्रारम्भिक परीक्षण उत्पादन गर्ने समय दिएकोमा तोकिएको अवधिभित्रै परीक्षण सफल भएको मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीले बताएका छन्।

मन्त्रालयका अनुसार पुराना मेसिन मर्मत गरी प्रारम्भिक काम अघि बढाउन ३० लाख रुपैयाँ उपलब्ध गराइएको थियो। यस अवधिमा उद्योग परिसरको सरसफाइ, विद्युत् प्रणाली तथा मेसिन मर्मतको काम गरिएको थियो।

प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले पनि पुराना तान मर्मतपछि परीक्षण उत्पादन सुरु भएको जानकारी दिएका छन्। लामो समयदेखि बन्द उद्योगमा शनिबार पुनः तानको आवाज सुनिन थालेको हो।

प्रारम्भिक परीक्षण सफल भए पनि उद्योग तत्कालै पूर्ण क्षमतामा सञ्चालनमा आउने भने होइन। सेनाका प्राविधिकहरूको प्रारम्भिक आकलनअनुसार दीर्घकालीन र व्यावसायिक उत्पादनका लागि नयाँ मेसिनरीसहित थप सुधार आवश्यक पर्नेछ।

यसअघि नेपाली सेनाले गरेको विस्तृत सम्भाव्यता अध्ययनमा उद्योग पुनः सञ्चालनका लागि करिब १ अर्ब ९३ करोड रुपैयाँ प्रारम्भिक लगानी र वार्षिक करिब ७८ करोड रुपैयाँ सञ्चालन खर्च लाग्ने अनुमान गरिएको थियो। अध्ययनले उद्योग सञ्चालनमा आएको नौ वर्षपछि लागत प्रतिस्थापन गरी नाफामा जान सक्ने सम्भावना देखाएको थियो।

चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०३२ सालमा स्थापना भएको हेटौँडा कपडा उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन, पुरानो प्रविधि, उच्च सञ्चालन खर्चलगायत कारण उत्पादन बन्द हुँदै गएको उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द अवस्थामा थियो।

विभिन्न सरकारले पटक–पटक उद्योग पुनः सञ्चालनको घोषणा गरे पनि उत्पादन लाइन चल्न सकेको थिएन। यसपटक भने पुरानै तान मर्मत गरी वास्तविक रूपमा कपडा उत्पादनको प्रारम्भिक परीक्षण सफल भएपछि उद्योग पुनः सञ्चालनको सम्भावना एक कदम अघि बढेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img