मकवानपुर । काठमाडौँ उपत्यकासहित देशका पश्चिमी भू-भागमा गएरातिदेखि नै निरन्तर वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँमा दिउँसोपछि झरी रोकिने भए पनि पश्चिमी क्षेत्रमा भने आज दिनभर नै वर्षा जारी रहनेछ।
गएराति बागमती प्रदेशको चितवनसहित गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरैजसो स्थानमा भारी वर्षा भएको छ। विशेष गरी चितवन, तनहुँ, नवलपरासी, रुपन्देही, कपिलवस्तु, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, पर्वत र कास्की क्षेत्रमा मुसलधारे वर्षा भएको महाशाखाले जनाएको छ। बिहानदेखि वर्षाको मात्रा केही घटे पनि जोखिम भने टरिसकेको छैन।
निरन्तरको वर्षाका कारण नारायणी र तिनाउसहित विभिन्न साना-ठूला नदी तथा खोलामा जलसतह बढेको छ। महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार न्यूनचापीय प्रणाली क्रमशः कमजोर बन्दै गएकाले भोलिदेखि देशभरको मौसममा क्रमिक सुधार आउनेछ। कोशी र मधेश प्रदेशमा हिजोदेखि नै झरी रोकिसकेको छ भने बागमतीमा पनि दिउँसोपछि मौसम खुल्ने अनुमान छ।
मौसमविद्हरूका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज दिनभर पानी परे पनि भोलिदेखि मौसम सफा हुँदै जानेछ। यद्यपि मनसुनी प्रणाली कायमै रहेकाले सामान्य वर्षाको सम्भावना भने रहन्छ।
अघिल्लो वर्षाका कारण नदीमा बहाव बढेकाले आगामी ८ देखि १० घण्टासम्म विशेष गरी पश्चिमी नेपालका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न महाशाखाले आग्रह गरेको छ।




