हेटाैँडा । पहिरोका कारण पृथ्वी राजमार्ग र कान्ति लोकपथ अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथमा सवारी सञ्चालनका लागि नयाँ समय तालिका तोकिएको छ। सडकमा बढेको सवारी चाप व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले तीन दिनका लागि दुवैतर्फ आउजाउ गर्ने सवारीलाई फरक-फरक समय निर्धारण गरेको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार हेटौँडाबाट काठमाडौँ जाने सवारी साधनका लागि चौकीटोलबाट असोज ११ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म, असोज १२ गते बिहान ४ बजेदेखि १० बजेसम्म तथा राति ९ बजेदेखि असोज १३ गते बिहान १ बजेसम्म र असोज १३ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्मको समय तोकिएको छ।
यस्तै काठमाडौँबाट हेटौँडा आउने सवारीका लागि सिमभञ्ज्याङ चौकीबाट असोज ११ गते राति १० बजेदेखि असोज १२ गते बिहान १ बजेसम्म, असोज १२ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म र असोज १३ गते बिहान ६ बजेदेखि ११ बजेसम्मको समय सीमा तोकिएको प्रशासनिक अधिकृत सन्तोष सुवेदीले जानकारी दिए।
अत्यावश्यक मानिने इन्धन र एलपी ग्यास बोकेकाबाहेक १० चक्काभन्दा बढी र १५ टनभन्दा गह्रौँ भार बोकेका मालवाहक सवारीलाई त्रिभुवन राजपथमा सञ्चालन गर्न रोक लगाइएको छ। यात्रुवाहक सवारीको हकमा पनि ११ मिटरसम्म लम्बाइ भएका गाडीले मात्र यो सडक प्रयोग गर्न पाउनेछन्। प्रशासनले समय तालिका र मापदण्ड बुझेर मात्र यात्रा तय गर्न चालक, व्यवसायी र यात्रुहरूलाई आग्रह गरेको छ।




