काठमाडाैँ । शेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन ओरालो लागेको छ। साताको कारोबारका क्रममा नेप्से परिसूचक ९.६२ अङ्कले घटेर २ हजार ६०३.७१ विन्दुमा झरेको हो।
नेप्सेसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ। ३६३ वटा कम्पनीका १ करोड १० लाख कित्ता शेयर ४ अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएका छन्। अघिल्लो दिन ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।
आज निर्जीवन बीमा र अन्य समूहबाहेक सबै उपसूचक राताम्मे बनेका छन्। जसमा व्यापार समूहको उपसूचक सर्वाधिक १.८७ प्रतिशतले घटेको छ। कुल १९९ वटा कम्पनीको शेयर मूल्य घट्दा ६९ वटाको बढेको छ भने १० वटा कम्पनीको मूल्य स्थिर रहेको छ।
कारोबारका आधारमा सिटिजन्स सुपर ३० म्युचुअल फन्डको शेयर मूल्य ५.४४ प्रतिशतले ओरालो लागेको छ। समग्र बजार घटेको दिन आईसीएफसी फाइनान्सको डिबेन्चर (२०८३) को मूल्य भने ९.१८ प्रतिशतले बढेको छ।




