मकवानपुर । लगातारको वर्षासँगै आएको बाढी-पहिरोले चार दिनदेखि बन्द बीपी राजमार्ग र कान्ति लोकपथ आज दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। सडक बगाएका स्थानमा अस्थायी डाइभर्सन बनाएर र पहिरो पन्छाएर साना सवारी साधन सञ्चालन गराइएको हो।
काभ्रे प्रहरीका अनुसार बीपी राजमार्गअन्तर्गत नमोबुद्ध र रोशी गाउँपालिकाका विभिन्न खण्डमा बाढीले ठूलो क्षति पुर्याएको थियो। चौकीडाँडामा रोशी खोलाको बहाव उच्च रहेकाले खानेपानी पम्प हाउसको भित्री ट्र्याक प्रयोग गरी गाडी पास गराइएको छ। काठमाडौँ-हेटौँडा जोड्ने कान्ति लोकपथ पनि पहिरो पन्छाएपछि एकतर्फी खुलेको छ।
नदीको बहाव अझै उच्च रहेकाले सडक विभाग र प्रहरीले जोखिमयुक्त क्षेत्रमा पूर्ण सावधानी अपनाएर मात्र यात्रा गर्न यात्रु तथा चालकहरूलाई आग्रह गरेका छन्।




