हेटाैँडा । हेटौँडा बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य निरन्तर बढ्दै प्रतिकिलो ४ सय ६० रुपैयाँसम्म पुगेको छ। मासुसँगै अण्डाको मूल्यसमेत लगातार बढेपछि स्थानीयको भान्सा खर्च महँगिएको छ।
बजारमा मूल्य वृद्धि हुनुका साथै एउटै क्षेत्रका पसलैपिच्छे फरक-फरक दरमा मासु बिक्री भइरहेको उपभोक्ताको गुनासो छ। हेटौँडा-२ का उद्धव घिमिरे र वडा नम्बर ५ की रमिला थापाका अनुसार अस्वाभाविक रूपमा मूल्य बढ्दा र पसलअनुसार फरक मूल्य लिँदा सर्वसाधारण अन्योलमा परेका छन्। उनीहरूले प्रभावकारी बजार अनुगमन र मूल्यसूची अनिवार्य गर्न माग गरेका छन्।
व्यवसायीहरूले भने माथिबाटै खरिद मूल्य महँगो परेकाले खुद्रा मूल्य बढाउनुपरेको दाबी गरेका छन्। बजारमा कुखुराको उत्पादन घट्नु र चाडपर्व नजिकिएसँगै माग बढ्नाले मासुको मूल्यमा दबाब परेको उनीहरूको भनाइ छ।
एकै महिनामा दुई पटकसम्म अण्डाको मूल्यसमेत बढेपछि हेटौँडाका उपभोक्ताले मनपरी मूल्य असुली नियन्त्रण गर्न र बजारमा नियमित अनुगमन बढाउन स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन्।




