मकवानपुर । गएको बुधबारदेखि पूर्ण रूपमा अवरुद्ध बनेको पृथ्वी राजमार्ग आज दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको छ। निरन्तरको वर्षापछि विभिन्न ठाउँमा पहिरो खस्दा सडकमा ठूलो क्षति पुगेर राजमार्ग ठप्प बनेको थियो।
धादिङको गजुरी गाउँपालिकास्थित चामबासमा खसेको मुख्य पहिरो हटाइए पछि राजमार्गमा अड्किएका सवारी साधनहरू एकतर्फी रूपमा चल्न थालेका हुन्। पहिरो पन्छाउने काम जारी रहेकाले दुवैतर्फ सञ्चालनमा आउन अझै केही समय लाग्ने जनाइएको छ।
अवरुद्ध सडक खुलेसँगै नागढुंगा-मुग्लिन खण्डमा रोकिएका सवारी साधन र यात्रुहरू गन्तव्यतर्फ लाग्न थालेका छन्। सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउनका लागि मेसिन तथा प्राविधिक टोली निरन्तर खटिरहेका छन्।
मौसम प्रतिकूल रहेकाले उक्त खण्डमा यात्रा गर्दा सतर्कता अपनाउन र सडकको ताजा अवस्था बुझेर मात्र यात्रा तय गर्न सडक विभाग तथा प्रहरीले यात्रुहरूलाई आग्रह गरेका छन्।




