काठमाडाैँ । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार परिसूचक (नेप्से) १६.४७ अङ्कले घटेको छ। बजार ओरालो लागेसँगै नेप्से परिसूचक २ हजार ६१३.३३ विन्दुमा झरेको छ।
नेप्सेसँगै आइतबार कारोबार रकममा पनि गिरावट आएको छ। गत बिहीबार ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३५७ वटा कम्पनीको १ करोड ३१ लाख कित्ता शेयर ५ अर्ब ३८ करोड रुपैयाँमा किनबेच भएको छ।
आज व्यापार उपसूचक बाहेक अन्य सबै समूहका उपसूचक घटेका छन्। जसमध्ये जलविद्युत्, लगानी र निर्जीवन बीमा समूहको उपसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।
दिनभरको कारोबारमा २२४ वटा कम्पनीको शेयर मूल्य घट्दा ४९ वटा कम्पनीको बढेको छ भने ६ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।
कारोबारका आधारमा हाथवे इन्भेस्टमेन्ट नेपालको शेयर मूल्यमा सबैभन्दा बढी साढे १० प्रतिशतको गिरावट आएको छ। बजार ओरालो लागे पनि कुमारी बैंकको डिबेन्चर (२०९०) को मूल्य भने १२.१७ प्रतिशतले बढेको छ।




