काठमाडाैँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो राष्ट्रिय आर्थिक गणनाअन्तर्गत सङ्कलन गरिएका १३ लाख ६६ हजार व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन कार्यलाई तीव्र बनाएको छ। सङ्कलित तथ्याङ्कलाई सही, परिमार्जित र उपयोगी बनाउन कार्यालयले डेटा प्रविष्टि (एन्ट्री) र कोडिङको काम धमाधम अघि बढाएको हो।
गणना शाखाका निर्देशक डा. वेदप्रसाद ढकालका अनुसार हालसम्म झण्डै दुई लाख प्रतिष्ठानको तथ्याङ्क प्रणालीमा प्रविष्ट भइसकेको छ भने करिब ६ लाख प्रतिष्ठानको कोडिङ सम्पन्न भएको छ। तथ्याङ्कमा रहेका त्रुटि, दोहोरिएका विवरण र नमिलेका अङ्कलाई सच्याएर गुणस्तर सुनिश्चित गर्न २०० जना जनशक्ति परिचालन गरिएको छ।
प्रतिष्ठानहरूलाई तिनको प्रकृतिका आधारमा औद्योगिक, व्यापारिक र सेवामूलकलगायत अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मापदण्डअनुसार कोडिङ गर्ने काम भइरहेको छ। गएको वैशाख २ देखि असार ७ गतेसम्म सञ्चालन भएको आर्थिक गणनामा व्यावसायिक कृषि, खानी, उद्योग, व्यापार, वित्तीय संस्थासहितका प्रतिष्ठानहरू समेटिएका थिए।
प्रशोधन प्रक्रिया पूरा गरी अन्तिम प्रतिवेदन सार्वजनिक भएपछि देशको समग्र आर्थिक नीति तथा विकास योजना निर्माणका लागि वस्तुपरक तथ्याङ्क प्राप्त हुने कार्यालयले जनाएको छ।




