काठमाडाैँ । कञ्चनपुरस्थित महाकाली नदीमाथि रहेको प्रसिद्ध दोधारा–चाँदनी झोलुङ्गे पुलको एउटा पिल्लर भाँचिएपछि आवतजावत पूर्ण रूपमा ठप्प भएको छ। नदीमा पानीको बेग बढेका कारण बुधबार बिहान पुलको पिल्लर भत्किएर क्षति पुगेको हो।
भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिका जोड्ने यो पुलको झण्डै ६ मिटर भाग मर्मत गर्नुपर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए। घटनालगत्तै सुरक्षाका लागि सो क्षेत्रमा प्रहरी टोली खटाइएको छ।
अहिले पुलबाट जोखिम बढेकाले उक्त बाटो भएर आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिकलाई आग्रह गरेको छ। भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराका अनुसार प्राविधिक टोलीले आएर पुलको स्थलगत निरीक्षण गर्ने तयारी भइरहेको छ।
महाकाली नदीमा पानीको बहाव घटबढ भइरहँदा पुलको संरचनामा लगातार असर पुग्दै आएको थियो। १ हजार ४५२.९६ मिटर लामो यो पुल नेपालकै सबैभन्दा लामो पैदलयात्री झोलुङ्गे पुलमध्ये एक मानिन्छ। दुई दशकअघि यो पुल निर्माण हुनुअघि दोधारा–चाँदनीका बासिन्दा सदरमुकाम महेन्द्रनगर आउन भारतको बाटो प्रयोग गर्न बाध्य थिए।




