मकवानपुर । सरकारले खाना पकाउने ग्यासको अभाव र असहजता हटाउन सुरक्षा निकायका आउटलेटमार्फत बिक्री वितरण गर्ने तयारी गरेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पेट्रोल पम्प तथा आउटलेटहरूबाट एलपीजी ग्याससमेत बिक्री गराउने गरी प्रबन्ध मिलाउन लागिएको हो।
प्रतिनिधि सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ सम्बन्धी छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले यस्तो जानकारी दिएका हुन्।
सुरक्षा निकायहरूले हाल पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेकाले तिनै आउटलेटबाट ग्यास वितरण गर्दा सर्वसाधारणलाई सहज हुने सचिव तामाङको भनाइ छ। बजारमा खाना पकाउने ग्यासको अभाव देखिएकाले आपूर्ति व्यवस्थालाई व्यवस्थित र सर्वसुलभ बनाउन यो कदम चाल्न लागिएको मन्त्रालयले जनाएको छ।



