काठमाडाैँ । काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको जीप गएराति सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा दुर्घटना हुँदा तीन जना महिलाको मृत्यु भएको छ।
गएराति साढे २ बजेतिर को १ ज २९७६ नम्बरको जीप अनियन्त्रित भई सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। ज्यान गुमाउने तीनै जना महिलाको पहिचान अझै खुल्न सकेको छैन।
दुर्घटनापछि जीपमा सवार अन्य तीन जना सुनकोशी नदीमा बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्य जारी रहेको सिन्धुली प्रहरीले जनाएको छ।
दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन्। घाइते हुनेहरूमा चालक ओखलढुङ्गाका आशिष विष्ट, खोटाङकी सम्झना राई, उनकी छोरी सिवानी राई र १३ वर्षीय अंकित विक रहेका छन्। घाइते सबैको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डीएसपी विजय श्रेष्ठले जानकारी दिए।


