मकवानपुर । अविरल वर्षाका कारण आएको बाढीपहिरोले पृथ्वी र बीपी राजमार्गसहित देशका १२ भन्दा बढी प्रमुख सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। निरन्तरको वर्षाले यातायात सेवा ठप्प हुँदा जनजीवन प्रभावित बनेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–२ परेवाभिरस्थित पृथ्वी राजमार्गमा पहिरो खस्दा यातायात दुईतर्फी नै ठप्प भएको छ। यस्तै, काभ्रेको रोशी गाउँपालिकामा खहरे खोलाबाट आएको लेदोसहितको पहिरोका कारण बीपी राजमार्ग बन्द भएको छ।
यसैगरी, ललितपुरको कान्ति लोकपथ, सुर्खेतको कर्णाली राजमार्ग, मध्यपहाडी राजमार्गको खोटाङ खण्ड र बागमती खोला करिडोरका विभिन्न स्थानमा पनि यातायात अवरुद्ध भएको छ। कालीगण्डकी करिडोरको गुल्मी-पाल्पा खण्ड, मुगुको नाग्म–गमगढी सडक र बुढीगण्डकी नदीको कटानले खोरलाबेंसी क्षेत्रको सडक पनि बगाएको छ।
नदिनालामा बाढीको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार रोशी, बागमती र कोदकु नदीमा जलसतहले सतर्कता पार गरेको छ। लगातारको वर्षाले कुलेखानी जलाशय भरिएर पानीको सतह बढेकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।
अवरुद्ध बनेका सडकहरू खुलाउन सम्बन्धित निकायबाट प्रयास भइरहेको सडक विभागले जनाएको छ।


