काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ।
फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकोप्टर ठोक्किएका हुन्। सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा परी ज्यान गुमाएका विदेशी नागरिकको शव प्रभु हेलिकोप्टरमार्फत उद्धार गरी लुक्ला ल्याइएको छ।
दुर्घटनामा घाइते भएका थप एकजनालाई उपचारका लागि माउन्टेन हेलिकोप्टरमार्फत अस्पताल पठाइएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।


