हेटौँडा । बागमती प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा करिब २८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। मन्त्रालय मातहतका कार्यालयहरूको समग्र वित्तीय प्रगति भने २० प्रतिशत रहेको छ।
मंगलबार हेटौँडामा आयोजित प्रथम त्रैमासिक प्रगति समीक्षा कार्यक्रममा मन्त्रालय र मातहतका कार्यालयहरूको बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनको अवस्थाबारे जानकारी गराइएको हो।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले निर्धारित लक्ष्यअनुसार समयमै नतिजा हासिल गर्न निर्देशन दिए। उनले बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्दै सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्ने बताए।
मन्त्रालयका प्रवक्ता अनिता तामाङका अनुसार सचिव महेश भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, सहकारी तालिम केन्द्र, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति र प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयको कार्यक्रमगत तथा वित्तीय प्रगति समीक्षा गरिएको थियो।
समीक्षामा वार्षिक कार्यक्रम कार्यान्वयनको अवस्था, हासिल भएका उपलब्धि र कार्यसम्पादनमा देखिएका चुनौतीबारे छलफल भएको थियो।
सोही अवसरमा मन्त्रालयको कार्यसम्पादनलाई थप प्रभावकारी र नतिजामुखी बनाउन सचिव भट्टराईले मन्त्रालयका महाशाखा प्रमुख तथा मातहतका कार्यालय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कल्याण रोकाया र बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीलगायतको सहभागिता थियो।


