काठमाडाैँ । यस वर्षको तिहार अवधिभर देशका धेरैजसो भूभागमा मौसम सफा र घमाइलो रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्ने र तराईको मौसम मुख्यतया सफा रहनेछ।
अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक-दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भोलि काग तिहारदेखि बुधबार भाइटीकाको दिनसम्म तिहारका पाँचै दिन धेरैजसो क्षेत्रमा मौसम अनुकूल रहने पूर्वानुमान गरिएको छ। तराईका धेरैजसो ठाउँमा मौसम सफा रहनेछ भने हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा आंशिक बदली हुनेछ।
पश्चिमी वायुको सामान्य प्रभावका कारण हिमाली र पहाडी क्षेत्रका थोरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहे पनि त्यसको प्रभाव निकै सामान्य रहने महाशाखाले जनाएको छ। साथै, तिहारका दिनहरूमा बिहानपख तराई, उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लाग्न सक्नेछ।


