काठमाडाैँ । तराई क्षेत्रमा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ। पश्चिमको कैलालीदेखि पूर्वको झापासम्मको आकाश धुम्मिएको छ भने बुटवल र झापाको वायु गुणस्तर ‘निकै अस्वस्थकर’ श्रेणीमा पुगेको हो।
मापनअनुसार झापामा वायु गुणस्तर सूचक (एक्यूआई) २०९ र बुटवलमा २०५ पुगेको छ। त्यस्तै, कैलालीमा १७० एक्यूआई मापन गरिएको छ। काठमाडौँ उपत्यकाको वायुको गुणस्तर पनि अस्वस्थकर अवस्थामा पुगेको छ, जहाँ एक्यूआई १५० देखि १७० को आसपास रहेको छ।
जलवायु विज्ञ उज्ज्वल उपाध्यायका अनुसार पाकिस्तान र पश्चिम भारतका मरुभूमिबाट उडेर आएको धुलो तथा भारतका विभिन्न क्षेत्रमा धान काटेपछि खेतमा पराल जलाउँदा निस्किएको धुवाँका कारण नेपालमा प्रदूषण बढेको हो। प्रदूषित हावामा अत्यन्त मसिना धुलोका कण, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइडजस्ता हानिकारक ग्यास रहने गर्छन्।
वायु प्रदूषण अस्वस्थकर तहमा पुगेकाले बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दम, मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा पर्छन्। प्रदूषण उच्च भएका बेला अनावश्यक रूपमा घरबाहिर ननिस्कन, बिहान र बेलुका धुलो–धुवाँ भएको स्थानमा हिँडडुल नगर्न र बाहिर निस्कनै परे राम्रो गुणस्तरको मास्क प्रयोग गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।
यसैबीच, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ, जसले छठ पर्व मनाइरहेका श्रद्धालुलाई राहत मिल्ने देखिएको छ। यद्यपि, पश्चिमी चितवन र नवलपरासीका केही स्थानमा वर्षा हुन सक्ने जलवायु विज्ञ उपाध्यायले बताए।
महाशाखाका अनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।


