काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो ।
अहिले पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ छ । निगमले हवाई इन्धनको मूल्य उच्च दरमा घटाएको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ र आन्तरिक इन्धनमा प्रतिलिटर २० रुपैयाँले घटाइएको छ ।
हवाइ इन्धनमा बढी नाफाका कारण यात्रुले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा चर्को शुल्क तिर्नुपरेको थियो । हवाई इन्धनमा चर्को शुल्क लिएको चौतर्फी आलोचनापछि आइतबार बसेको सञ्चालक समितिको बैठकले भाउ घटाउने निर्णय गरेको हो । अब हवाई इन्धनको आन्तरिक मूल्य १७० रुपैयाँ तोकिएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । ग्यासको उच्च घाटाका कारण मूल्य घटाउन नसकेको निगमले जनाएको छ ।
मधुकुमार मरासिनीले वाणिज्य तथा आपूर्ति सचिवको जिम्मेवारी सम्हालेपछि आइतबार बसेको बैठकले भाउ घटाउने निर्णय गरेको हो ।