धर्म/संस्कृतिसाउने सङ्क्रान्ति: लुतो फाल्ने परम्पराको महत्व र इतिहास

साउने सङ्क्रान्ति: लुतो फाल्ने परम्पराको महत्व र इतिहास

काठमाडौं | आज साउने सङ्क्रान्ति, नेपाली हिन्दु परम्परामा महत्वपूर्ण पर्वको रूपमा मनाइँदै छ। यस दिन साँझ घरघरमा लुतो फाल्ने प्रचलन रहेको छ, जसको पछाडि विशेष महत्व र इतिहास लुकेको छ।

बिक्रम सम्वतको पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने सङ्क्रान्ति भनिन्छ। ज्योतिष शास्त्रमा यसलाई ‘कर्कट सङ्क्रान्ति’ पनि भनिन्छ, किनकि यस दिनदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्छ।

लुतो फाल्ने परम्पराको मुख्य उद्देश्य स्वास्थ्यसँग जोडिएको छ। धर्मशास्त्रविदहरूका अनुसार, असार महिनाभर कृषि कर्ममा व्यस्त रहेका किसानहरूलाई लाग्ने छालासम्बन्धी रोग निको पार्न यो प्रथा सुरु भएको हो।

यस दिन लुतेसरो, कुकुरडाइनो, भलायो र कुरिलो जस्ता जङ्गली वनस्पतिमा आगो सल्काएर “लुतो लैजा है” भन्दै फाल्ने गरिन्छ। यसका साथै कागभलायो, पानीअमला, कागती, अम्बा, नासपाती जस्ता औषधीय गुण भएका वनस्पति पनि प्रयोग गरिन्छ।

लुतो फाल्ने विधि

साउने संक्रान्तिको दिन कतिपय ठाउँमा संक्रान्ति सुनाउन जाने चलन अहिले पनि देख्न सकिन्छ । संक्रान्ति सुन्ने र यस दिन स्नान गरेर दान गर्दा पुण्य प्राप्त हुन्छ भन्ने मान्यता छ । लुतो फाल्ने दिन दिउँसोमा जंगलमा गएर विभिन्न प्रजातिका वनस्पतिहरु संकलन गर्ने गरिन्छ । ती संकलित वनस्पतिको साथमा यही दिन कन्दारक पूजा पनि गर्नुपर्ने शास्त्रीय मान्यता रहेको ढुंगेल बताउँछन् ।

लुतो फाल्ने कर्म श्रावण १ गते साँझ गरिन्छ । यस दिन भलायोको पात, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनुको लहरो, धसिङ्गरेका बोट, उन्यू जातको नागबेली, कुरिलो, सिउँडी, सिस्नु, जरै सहितको पानीअमला लगायतका विविध वनस्पति जम्मा गर्ने गरिन्छ ।

सूर्यास्तपछि दिनभर जम्मा पारेको वनस्पतिको साथमा कन्दारकको पूजा गरिन्छ । जसलाई लुते देउताको रुपमा पनि चिन्ने गरिन्छ । यी सबै चिजका अलावा बिमिरो अथवा निबुवालाई राखेर पनि कन्दारकको पूजा गर्ने गरिन्छ ।

संस्कृतमा यो पर्वलाई ‘लुत निक्षेपण’ पर्वको नामले चिनाउने गरिएको छ । यसको अर्थ लुतो फाल्ने नै हो । यो हिलोमा बेस्सरी काम गर्दा हुन सक्ने हिले खटिरा हटाउने उपाय हो भन्छन् बुढापाकाहरु । पूजा सकेपछि दियालो बालिन्छ । कुरिलो डाँठमा राखेर आगो बालिसकेपछि त्यो दाउरा आफैँ पड्किन सुरु हुन्छ । कुरिलोको डाँठलाई पाँचदेखि सातवटा मुठा बनाइएको हुन्छ । ती सबैलाई अगुल्टोको रुपमा प्रयोग गरिन्छ । दाउरालाई सबै दिशातिर फालिन्छ ।

कन्दारकको पूजाको समयमा घरमा कसैले ढिकी कुट्ने, कसैले नांग्लो ठटाउने वा शंख फुक्ने जस्ता काम गर्ने गरिन्छ । यसरी बाजा वा शंख फुक्दै पहिले मुठा बनाइएको अगुल्टोलाई अर्को गाउँलेको नाम लिएर लुतो फाल्ने गरिन्छ । अर्को गाउँलेले पनि यही विधिबाट नै आफ्नो सम्मुख गाउँलेको नाम लिएर लुतो फाल्ने गर्छन् ।

उबेलाको लुतो फाल्ने चलन

पहिले र अहिलेको लुतो फाल्ने चलन धेरै परिवर्तन भइसकेको बताउँछन् वरिष्ठ पत्रकार रिसाल । अहिले त यदाकदाबाहेक लुतो फाल्ने चलन नै हराइसकेको छ ।

उनी हिजो आज धसिङ्गरे लगायत वनस्पति लिन वनपाखा जाने चलन हराएकोमा दुःख मान्छन् । धसिंगलेसँगै नरकटका बोट, तितेपाती जस्ता वनस्पति जम्मा गर्ने, दाउराको साटो छवालीका मुठा बाल्ने चलन पनि पहिलेको भन्दा फरक रहेको रिसाल बताउँछन् । यसरी पहिले लुतो फाल्ने परम्पराका नाममा विविध वनस्पतिको संरक्षण गरिने परिपाटी हराएकोमा उनी दुःख मान्छन् ।

आफूहरु सानो छँदा अनन्तलिंगेश्वरको डाँडामा गएर थसिंगरे लगायतका वनस्पतिहरु ल्याएर विधिपूर्वक लुतो फालेको उनी सुनाउँछन् । त्यहाँ लुतो फाल्न चाहिने सबै वनस्पति पाइन्थे । उनी भन्छन् ‘साउने संक्रान्तिका दिन गाउँका हामी ८/१० जना किशोरहरू ती सामग्री लिन डाँडामा उक्लिन्थ्यौं ।’

ती सबै सामान ल्याएर लुते देवताको पूजा गर्ने गरिन्थ्यो । पूजापछि दाउराको स–साना टुक्रा जम्मा पारिन्थे ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img