काठमाडौ: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा प्रकाशन गरेको छ । बोर्डले २०७२ सालको लेटर ग्रेडिङ निर्देशिका अनुसार नै नतिजा सार्वजनिक गरेको हो । एसईईको परीक्षा गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता थियो ।
नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ । यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ ।
२२ हजार ४७५ विद्यार्थीले ३.६० देखि ४.०० जिपिए ल्याएका छन्। त्यस्तै ३.२० देखि ३.६० सम्म जिपिए ल्याउनेको संख्या ५५ हजार ०६९ रहेको पनि बोर्डले सार्वजनिक गरेको नतिजामा उल्लेख छ। २.८० देखि ३.२० सम्म जिपिए ल्याउने विद्यार्थीको संख्या ७२ हजार ३६२ रहेको बताइएको छ।यस्तै, २.४० देखि २.८० सम्म जिपिए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ३३१ रहेको छ।
२.००देखि २.४० सम्म जिपिए ल्याउनेको संख्या १ लाख २ हजार २९३ रहेको बोर्डले बताएको छ। २०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए। तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशका एक लाख दुई हजार परीक्षार्थी थिए भने सबैभन्दा कम कर्णाली प्रदेशका ३८ हजार ६०८ परीक्षार्थी सम्मिलित भएका थिए।
नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजी प्रालिको ३५००१, इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३ र क्रियसन सफ्ट नेपाल प्रालिको ३१०६४ एसएमएस गरी एसईईको नतिजा हेर्न सकिन्छ ।
एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने छ । यस्तै Result लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर राखी ३५००१ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।
यसैगरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट पनि नतिजा थाहा पाउन सकिने छ ।
३५ अकं नल्याए अवर्गीकृत गरिने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
केन्द्रले चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८ ले विद्यालय तहको कक्षा १–१२ सम्मका विद्यार्थीहरू अब पास हुन प्रत्येक विषयमा ३५ नम्बर अनिवार्य ल्याउनुपर्नेछ।
निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत भन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ। विद्यार्थीले कुनै पनि विषयमा एनजी ल्याएको अवस्थामा कक्षा ११ मा पढ्न पाउने छैनन्।
निर्देशिका अनुसार कक्षा ८, १० र १२ मा सबै विषयमा न्यूनतम ग्रेड पुरा गरेपछि मात्र विद्यार्थीले मूल प्रमाणपत्र पाउनेछन् । तर विषयगत रूपमा आन्तरिकतर्फ सी र सैदान्तिकतर्फ डी ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीले मूल प्रमाणपत्र पाउनेछैनन्।
मूल प्रमाणपत्र पाउन नसक्ने विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन्। दुईभन्दा बढी विषयमा तोकिएको ग्रेड पाउन नसकेका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि तोकिएको ग्रेड पाउन नसकेका परीक्षार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्नेछ।
०७२ सालदेखि कार्यान्वयनमा ल्याएको ग्रेडिङ प्रणालीले विद्यार्थीको सिकाइ स्तर खस्काएको, शिक्षकमा पढाउने र विद्यार्थीको अध्ययन गर्ने संस्कृति हटाएको निष्कर्ष निकाल्दै पाठ्यक्रम विकास केन्द्रेले अक्षरांक पद्धति कार्यान्वयन कार्यविधि, ०७२ खारेजी गरी नयाँ लेटर ग्रेडिङ निर्देशिका, ०७८ कार्यन्वयनमा ल्याएको केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले बताए।
३५ र सोभन्दा माथि ४० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीहरूको स्तरीकृत अंक १.६ हुने, अक्षरमा उपलब्धि स्तर डी र उपलब्धि स्तरको व्याख्या आधारभूत कायम गरिनेछ भने ३५ भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीको स्तर अवर्गीकृत गरिने अर्थात् फेल गरिने व्यवस्था नयाँ ग्रेडिङ प्रणालीले गरेको छ।
११ कक्षा अध्ययनका लागि एसईईमा कम्तीमा १ दशमलव ६ जीपीए ल्याउनैपर्छ । १ दशमलव ६ ल्याउँदैमा पनि चाहेको विषय अध्ययन गर्न पाइँदैन । त्यसका लागि तोकिएको विषयमा निश्चित ग्रेड ल्याउनुपर्छ । सामान्यत: विज्ञान, गणित तथा अंग्रेजीमा सी ग्रेड एवं सामाजिक शिक्षा तथा नेपालीमा डी प्लस गरी कम्तीमा १ दशमलव ६ जीपीए आए प्राविधिकतर्फ जीव विज्ञान, वनस्पति विज्ञान तथा इलेक्ट्रोनिक, सिभिल वा कम्प्युटर इन्जिनियरिङ पढ्न पाइन्छ । गणितमा सी, अंग्रेजी, नेपाली, सामाजिक शिक्षा र विज्ञानमा डी प्लससहित जीपीए १ दशमलव ६ भन्दा बढी ल्याएकाले मात्र गणित, लेखा, कम्प्युटर साइन्स, टिचिङ म्याथमेटिक्स, इलिमेन्ट अफ साइन्स, ज्योतिष, बिजनेस म्याथमेटिक्स, कोअपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, जियोग्राफी एवं साइकोलोजी अध्ययन गर्न पाइन्छ ।
शिक्षातर्फका विषय अध्ययन गर्न विद्यार्थीले एसईई परीक्षामा विज्ञान र गणितमा कम्तीमा सी तथा अंग्रेजी, नेपाली एवं सामाजिक शिक्षामा डी प्लस प्राप्त गर्नुपर्नेछ । ती विषयमा तोकिएको ग्रेडिङ प्राप्त गरे मात्र फिजिक्स, केमेस्ट्री, बायोलोजी तथा टिचिङ साइन्स अध्यापनका लागि योग्य मानिन्छ । त्यस्तै अंग्रेजीमा सी, नेपाली तथा सामाजिक शिक्षामा डी प्लस ल्याए अंग्रेजी, अल्टरनेटिभ अंग्रेजी, टिचिङ अंगेजी एवं भाषा विज्ञान अध्ययनका लागि योग्य मानिन्छ ।
राष्ट्रिय परीक्षा बोर्डले तोकेको मापदण्डअनुसार एसईई परीक्षामा अंग्रेजीमा सी तथा नेपाली, गणित र सामाजिक शिक्षामा डी प्लस ग्रेड प्राप्त भए मास कम्युनिकेसन, होटल म्यानेजमेन्ट तथा ट्राभल्स एन्ड टुरिज्म अध्ययन गर्ने ढोका खुल्छ । नेपाली विषयमा सी, अंग्रेजी तथा सामाजिक शिक्षामा डी प्लस प्राप्त भए नेपाली र टिचिङ नेपाली विषय अध्ययनका लागि बाटो खुल्छ । बोर्डका अनुसार सामाजिक शिक्षामा सी र नेपाली तथा अंग्रेजीमा डी प्लस ल्याउने विद्यार्थीले कक्षा ११ मा पोलिटिकल साइन्स, इतिहास, संस्कृति, गृह विज्ञान, समाजशास्त्र, दर्शनशास्त्र, लाइब्रेरी तथा इन्फरमेसन साइन्सजस्ता विषय अध्ययन गर्न पाउँछन् ।
जनसंख्या तथा शारीरिक शिक्षामा सी तथा नेपाली, अंग्रेजी एवं विज्ञानमा डी प्लस ल्याउने विद्यार्थीले इन्ट्रोडक्ट टु एजुकेसन, इन्स्ट्रक्सन पोडागोजी, स्वास्थ्य एवं शारीरिक शिक्षा, जनसंख्या र वातावरण शिक्षा अध्ययन गर्न पाउँछन् भने नेपाली, अंग्रेजी एवं सामाजिक शिक्षामा डी प्लस आए ह्युमन भ्यालु एजुकेसन, जनरल ल, संस्कृत, व्याकरण, साहित्य, न्याय, वेद, नीति शास्त्र, बौद्ध एजुकेसनजस्ता विषय अध्ययन गर्न पाइन्छ ।
विभिन्न भाषा अध्ययन गर्न रुचाउने विद्यार्थीहरूले भने अंग्रेजीमा डी प्लस ल्याउनैपर्छ । अंग्रेजीमा डी प्लस ल्याए मैथिली, हिन्दी, नेपाली, फ्रेन्च, जापानी, उर्दू, जर्मन, चिनियाँका साथै अन्य भाषा अध्ययन गर्न पाइन्छ । त्यसैगरी डान्स, म्युजिक, मूर्तिकला, एप्लाइड आटर््स, स्पोर्ट्सजस्ता विषय अध्ययन गर्न अंग्रेजीमा डी प्लस ल्याउनैपर्छ ।