सुनसरी / भोजपुरमा माध्यमिक तहमा प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न माध्यमिक विद्यालयले ऐच्छिक विषयका रूपमा प्राविधिक शिक्षा अध्ययन गराउन थालेपछि यसप्रति विद्यार्थीको आकर्षण बढेको हो।
रामप्रसादराई गाउँपालिका- ३ भुल्केमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेपछि वडाका अधिकांश विद्यार्थीले यो शिक्षा लिँदै आएका छन् । यहाँका विद्यार्थीले कृषि विषयमा प्राविधिक शिक्षा लिँदै आएका छन् ।
शिक्षा हासिल गरेपछि सहज रूपमा रोजगार पाइने तथा जीवनोपयोगी सीप हासिल हुने भएसँगै विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा परेको विद्यालयका प्रध्यानाध्यक पेशलकुमार तिमल्सेनाले बताए । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारसँग र रोजगारलाई बजारसँग जोडेर उत्पादनशील र उत्पादनमुखी बनाउनका लागि प्राविधिक शिक्षाको सुरुवात गरेको उनको भनाइ छ ।
विद्यार्थीलाई सहज प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न प्राविधिक शिक्षामा जोड दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकराज भट्टराईले बताए । यस वर्ष पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत रु. पाँच लाख लागतमा च्याउखेती गर्न घर निर्माणसँगै प्राविधिक शिक्षाका लागि आवश्यक सामग्री खरिद गरिने उनको भनाइ छ ।
आवेदन माग गरेर विद्यार्थीको रोजाइको आधारमा च्याउखेती, टमाटर खेती, फलफूल खेती, तरकारी खेतीमा जोड दिइएको उनको भनाइ छ । आगामी दिनमा यसको विस्तारमा थप जोड दिने लक्ष्य रहेको उनले जानकारी दिए । विद्यार्थीले टमाटर, काउली, ब्रोकाउली, च्याउलगायतको व्यावसायिक खेती गर्दै आएका छन् ।
भोजपुरमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रअन्तर्गत दुई आंगिक शिक्षालय सञ्चालनमा छन् । भोजपुर नगरपालिका– ६ मा रहेको सुम्निमा पोलिटेक्निक इन्स्टिच्युट र रामप्रसादराई गाउँपालिका मानेभञ्ज्याङमा राममिथिला बहुप्राविधिक शिक्षालय सञ्चालनमा छन् । यीसँगै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रबाट अनुमति लिएर विभिन्न माध्यमिक विद्यालयले प्राविधिक शिक्षा पढाउँदै आएका छन् ।