काठमाडौं – शैक्षिक सत्र ०८१ सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने गरी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले चुस्त रूपमा पुस्तक छपाइ र वितरणको तयारी गरिरहेको छ। केन्द्रले यही चैत १५ गतेभित्र आवश्यक पाठ्यपुस्तकको छपाइ सम्पन्न गरी चैत १६ गतेदेखि नै सातवटै प्रदेशका नौ वितरण केन्द्रबाट पुस्तक वितरण सुरु गर्ने भएको हो।
छपाइ र वितरणमा केन्द्र रातदिन खटिरहेको छ। दैनिक एक लाख थान छपाइ भइरहेको छ भने पुस्तक वितरणलाई पनि प्राथमिकीकरण गरिएको छ। केन्द्रले यसपाली एक करोड ७५ लाख थान पुस्तक छपाउनुपर्ने भएको छ। जसमध्ये एक करोड ५७ लाख थान छपाइ सकेको छ भने बाँकी १८ लाख थान पनि चैत १५ भित्रै छपाइ सम्पन्न गरिनेछ। पुस्तक वितरणका लागि पहिलो प्राथमिकतामा हिमाली र दुर्गम क्षेत्र राखिएको छ भने दोस्रोमा पहाडी र तेस्रोमा तराईँ क्षेत्रलाई राखिएको छ। अन्तमा उपत्यकाको पालो आउनेछ।
केन्द्रले बिहानदेखि बेलुकासम्म नै वितरण गर्ने गरेको छ भने २४ सैँघण्टा छापाखाना सञ्चालन गरिरहेको छ। गत वर्ष शैक्षिक सत्र सुरुहुनुपूर्व नै कक्षा ६ देखि १२ सम्मका पुस्तक छपाइ र वितरण सकिनुका साथै आगामी वर्षका लागि पनि केन्द्रले कक्षा १ देखिकै पाठ्यपुस्तक छपाइको तयारी गरिरहेको प्रबन्ध निर्देशक झाले बताए।



