हेटौँडा | मकवानपुरको हेटौँडामा भोली शब्दको खेल खेलाइँदै छ । बालजागृति अङ्ग्रेजी माध्यमिक विद्यालयले स्क्र्याबल क्लबसँगको सहकार्यमा (भोली) असार १५ गते शनिबार एकदिने स्क्र्याबल अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ। जहाँ विद्यार्थीहरूलाई स्क्र्याबल अर्थात ‘शब्दको खेल’ खेलाईनेछ ।
कार्यक्रममा हेटौँडा, बकैया र मनहरीका करिब ५० विद्यालयका २५० विद्यार्थीहरू सहभागी हुने अपेक्षा गरिएको छ। परम्परागत शिक्षण पद्धतिभन्दा फरक यो कार्यक्रमले विद्यार्थीहरूलाई खेलकुदको साथसाथै अङ्ग्रेजी शब्दभण्डार बढाउन र भाषा सीप विकास गर्न समेत मद्दत गर्ने लक्ष्य राखेको छ।
शुक्रबार विद्यालयले पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिएको थियो। विद्यालयका अध्यक्ष दिनेश प्रसाद भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रधानाध्यापक बिनोद सुबेदीले कार्यक्रमको विवरण प्रस्तुत गरेका थिए । उनका अनुसार, कार्यक्रममा करिब ५० वटा विद्यालयका २५० विद्यार्थीहरूको सहभागिता रहनेछ भने पाँच जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिने योजना रहेको छ। कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरू समावेश हुनेछन् र प्रत्येक विद्यालयबाट तीन जना विद्यार्थी र एक जना शिक्षक सहभागी हुन पाउने व्यवस्था मिलाइएको प्रधानाध्यापक सुबेदीले बताए ।
स्क्र्याबल क्लबका मकवानपुर संयोजक बिबश जंग थापाले स्क्र्याबलको महत्त्व र यसअघि भएका प्रतियोगिताहरूबारे समेत जानकारी दिए। उनले बताए अनुसार, यसअघि मकवानपुरमा १३ वटा विद्यालयको सहभागितामा जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरिएको थियो। स्क्र्याबल खेलले अङ्ग्रेजी शब्दभण्डार बढाउन सहयोग पुर्याउने हुँदा खेलले विद्यार्थीहरूको अङ्ग्रेजी भाषा सीप विकासका हुने बताए ।
स्क्र्याबल क्लबका अनुसार, विद्यार्थीहरूलाई केवल किताबी ज्ञान र रटाइमा सीमित नराखी, सक्रिय र रचनात्मक सिकाइ प्रक्रियामा संलग्न गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी सञ्चार, सहकार्य, सृजनात्मकता, समालोचनात्मक सोचाइ, नेतृत्व सीप, उद्यमशीलता र समस्या समाधान जस्ता नरम सीपहरूको विकासमा जोड दिन्छौँ।”
कार्यक्रम रोयल पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सञ्चालन हुनेछ। सामाजिक विकास मन्त्री कुमारी मोक्तान प्रमुख अतिथिको रूपमा उपस्थित हुने जनाइएको छ। कार्यक्रमको लागि करिब तीन लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
कार्यक्रममा स्क्र्याबलका नियम र रणनीतिहरू सिकाउने अन्तरक्रियात्मक कार्यशाला र अभ्यास सत्रहरू समावेश गरिएको आयोजकले जनाएको छ । स्क्र्याबल क्लबका केन्द्रीय सदस्य भोजराज सुबेदीले तालिम संयोजनको जिम्मेवारी लिएका छन्।
मकवानपुरबाट बालजागृति विद्यालयका छात्र प्रसिद्ध तिमिल्सिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्क्र्याबल प्रतियोगितामा सहभागिता समेत जनाइसकेका छन् भने नेपालमा स्क्र्याबल सम्बन्धी गतिविधि मूलतः स्क्र्याबल क्लब पोखराले गर्दै आएको छ। यस क्लबले हालसम्म नौ वटा राष्ट्रिय स्क्र्याबल च्याम्पियनशिप र दुई अन्तर्राष्ट्रिय स्क्र्याबल प्रतियोगिता आयोजना गरिसकेको छ। यसैगरी, २०८१ सालमा कास्कीको ताङतिङ र धनगढीमा खुला स्क्र्याबल प्रतियोगिता पनि सम्पन्न गरेको छ।