हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं. १०, टिसिएन चौरमा जारी राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा टिकट मूल्यबारे विवाद उत्पन्न भएको छ। आयोजक औद्योगिक शान्ति नेपालले सुरुमा ७५ रुपैयाँमा टिकट बिक्री गरे पनि बुधबार साँझ ५ बजेपछि ३०० रुपैयाँको टिकट अनिवार्य गरेपछि दर्शकहरु आक्रोशित बनेका थिए।
दिनभर ७५ रुपैयाँको टिकट काटेर मेला भित्र प्रवेश गरेका दर्शकहरुलाई बेलुकी ५ बजेपछि जबर्जस्ती बाहिर निकाल्न खोजिएको थियो। आयोजकले राष्ट्रिय कलाकारको प्रस्तुति हुने भन्दै ३०० रुपैयाँको नयाँ टिकट काट्न बाध्य पार्न खोज्दा मेला स्थलमा तनाव उत्पन्न भयो। केही दर्शकलाई बाहिर निकाल्ने क्रममा विवाद चर्किएको थियो भने सुरक्षामा खटिएका प्रहरी रमिते बनेको आरोप लागेको छ।
महोत्सवको स्वीकृतिप्रक्रियामै हेटौँडा उपमहानगरपालिका, प्रशासन र सुरक्षाकर्मीबीच सेटिङ भएको चर्चा भइरहेका बेला टिकट दर वृद्धिले असन्तोष झन् बढाएको छ। आयोजक मकवानपुर निर्माण व्यवसायी संघका अध्यक्ष बालगोपाल कडेलले टिकट व्यवस्थापनमा केही असहजता भए पनि पछि समस्या समाधान गरिएको दाबी गरे। उता, हेटौँडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले टिकट दर परिवर्तनबारे आफू अनभिज्ञ रहेको बताइन् भने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले विवाद समाधानका लागि पहल गरिएको स्पष्ट पारे।
राजु लामाको प्रस्तुतीमा दर्शक झुमे
टिकट विवादबीच पनि सांगीतिक माहोल भने उत्तिकै रोचक रह्यो। चर्चित गायक राजु लामा र उनको ब्यान्ड ‘मङ्गोलियन हर्ट’को विशेष प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनायो। “चाडै फर्की आऊ”, “हल्ला चलेछ”, “तिमी बिना” जस्ता लोकप्रिय गीतहरु गाइरहँदा दर्शकहरू झुम्न बाध्य भए। लामाको प्रस्तुति हेर्नकै लागि धेरै दर्शकहरू बेलुकीसम्म पर्खिरहेका थिए।
महोत्सव फागुन १८ गतेसम्म सञ्चालन हुनेछ, जसमा निर्माण सामग्री, स्थानीय उत्पादन, व्यवसाय प्रवर्द्धन, प्रदर्शनी, सांस्कृतिक कार्यक्रम लगायत विभिन्न आकर्षण रहने आयोजकले जनाएको छ।