हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा बुधबारदेखि तेस्रो अध्यक्ष कप अन्तर वडा फुटबल प्रतियोगिता सुरु भएको छ। गाउँपालिकाको आयोजनामा तथा खेलकुद विकास समितिको व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले गरे।
वडा नं. ९, नामटारमा भएको पहिलो खेलमा वडा नं. ७ ले वडा नं. १ लाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गर्यो। खेलको पाँचौँ मिनेटमा वडा ७ का सन्तोष मुक्तानले पहिलो गोल गरेका थिए भने दोस्रो हाफको १९ औँ मिनेटमा सागर चेपाङले गोल थप्दै टिमको अग्रता दोब्बर बनाए। वडा १ का शिशिर नेगीले इन्जुरी समय (२५+२ मिनेट) मा गोल फर्काए पनि खेल ७ नं. वडाको पक्षमा टुंगियो। म्यान अफ द म्याच वडा ७ का सागर चेपाङ घोषित भए, जसलाई गाउँपालिका अध्यक्ष मुक्तानले ट्रफि प्रदान गरे।
दोस्रो खेलमा वडा नं. ४ ले पेनाल्टी सुटआउटमा वडा नं. २ लाई ५–४ गोल अन्तरले पराजित गर्दै जित हात पार्यो। निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। खेलको म्यान अफ द म्याच वडा ४ का गोलरक्षक सबल प्रजा घोषित भए।
नकआउट चरणमा बिहीबार चार खेल हुनेछन्। पहिलो खेल वडा नं. १० र ६ बीच, दोस्रो खेल वडा नं. ५ र ३ बीच हुनेछ। तेस्रो खेल वडा नं. ७ र ९ तथा चौथो खेल वडा नं. ४ र ८ बीच हुने आयोजक समितिका संयोजक मोहन वाइवाले जानकारी दिए।
मैत्रीपूर्ण खेलमा कैलाशको जित
यसैबीच, कैलाश गाउँपालिकामा कार्यरत कर्मचारी र मकवानपुरगढी गाउँपालिकाका कर्मचारीबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा कैलाश गाउँपालिका १–० गोल अन्तरले विजयी भयो। खेलमा कैलाशका रोजगार संयोजक हस्तराम नेगीले निर्णायक गोल गरेका थिए।
विजेतालाई ट्रफी र मेडल तथा उपविजेतालाई मेडल प्रदान गरिएको थियो। खेलकुद विकास समितिका संयोजक मोहन वाइवाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न खेल कार्यक्रममा पालिका उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, मकवानपुरगढीका वरिष्ठ लेखा अधिकृत रामकृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।