चितवन | नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा चितवनको नारायणी किनार सांगीतिक उत्सवले गुञ्जिने भएको छ। यही चैत्र ३१ गते हुने ‘मिसन रेड न्यू इयर फेस्ट’ नामक भव्य कन्सर्टका लागि तयारी तीव्र पारिएको छ। एस.डी. इभेन्ट्स एण्ड म्यानेजमेन्टको आयोजनामा हुन लागेको सो कार्यक्रममा नेपालका चर्चित पाँच ब्यान्डको प्रस्तुति रहनेछ।
कन्सर्टमा मन्त्र, कुटुम्ब, द एक्स ब्यान्ड, समीर श्रेष्ठ एण्ड गुड बोइज तथा केहर एण्ड जोए जस्ता चर्चित ब्यान्डले प्रस्तुति रहने पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको हो । कन्सर्टमा करिब १५ हजारभन्दा बढी दर्शक सहभागी हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
२५ वर्षदेखि नेपाली सांगीतिक यात्रामा सक्रिय मन्त्र ब्यान्डले यस अवसरमा आफ्नो लोकप्रिय गीतसहित प्रस्तुति दिनेछ। लोक र आधुनिक संगीतको संयोजनमा परिचित कुटुम्ब ब्यान्डले पनि मौलिक बाजाका धुनमार्फत दर्शकलाई झुमाउनेछ।
नेपाली रक ब्यान्डमध्ये चिनिएको द एक्स ब्यान्डले पनि ‘तिम्रो नजरले’, ‘बाईरोडको बाटोमा’ लगायतका पुराना हिट गीत प्रस्तुत गर्नेछ। पछिल्लो पुस्तामा लोकप्रिय गायक समीर श्रेष्ठ आफ्नो ब्यान्ड गुड बोइजसँग प्रस्तुति दिन लागेका हुन्। ‘तिमी भएर’, ‘जे छौ तिमी’ लगायतका गीतमार्फत उनी चर्चित छन्।
त्यस्तै, पछिल्लो समय युवामाझ निकै रुचाइएका गायक केहर लिम्बु र जोए पनि नारायणी किनारमा प्रस्तुत हुनेछन्। ‘सरर सरर’, ‘बैगुनी’ जस्ता गीतमार्फत उनीहरू चर्चित छन्।
कार्यक्रमका लागि खल्ती एपमार्फत अनलाइन टिकट खरिदको व्यवस्था गरिएको आयोजकले जनाएको छ। नयाँ वर्षलाई सांगीतिक र स्मरणीय बनाउन कन्सर्टलाई विशेष बनाउने तयारी गरिएको आयोजकको भनाइ छ।