Saturday, October 5, 2024
फिचर‘खरको छानो आगोले टिपेको पत्तै नहुने’

‘खरको छानो आगोले टिपेको पत्तै नहुने’

पाँचथर : तेह्रथुमको आठराई गाउँपालिका–६ हात्तीखर्कका आशबहादुर घिसिङको उमेर ८० वर्ष पुग्यो । हातपाउ लाग्न छोडेका घिसिङका बाबुबाजेको सारा जीवन पनि यही ठाउँमा बितेको थियो । विसं २००१ असार १५ मा जन्मिएका  घिसिङले सुनेअनुसार उनका बाबुबाजेको जीवन पनि यही ठाउँमा बितेको थियो । आफ्नो उत्पादनले खान नपुगे पनि हात्तीखर्कमै घिसिङका शाखा सन्तानले यहीँ गुजारा गरिरहेका थिए ।

तर ८० वर्षको उमेरमा घिसिङ घरबारविहीन हुनुपरेको छ । आगलागीले घिसिङको टोलका १४ घर एकैसाथ खरानी बनाएको छ । आँखैअघि सारा गाउँ खरानी हुँदा घिसिङलाई सपनाजस्तै लागेको छ । “बाबु बाजेबाट न यस्तो विपत्ति सुनेको थिएँ, न यो जीवनले भोगकै थियो”, घिसिङ स्वयं आश्चार्यमा छन् । तर लौरोको सहारामा जीवन कटाउनुपर्ने बेलामा उनिसंग न घर नै रह्यो न सम्पत्ति ।

यही फागुन १२ गते नजिकैको खैरेनी निबुटार सामुदायिक वनमा लागेको आगो हात्तीखर्कको बस्तीमा सल्कियो । हुन त हात्तीखर्कमा यत्रो जङ्गल थिएन । यहाँका कयौँ स्थानीयवासी सहज जीवनयापनको अपेक्षामा बसाइँ सरेर गएपछि बस्ती नै जङ्गलमा परिणत भएको थियो । घिसिङकै दुई जना भाइका परिवार पनि यहाँबाट बसाइँ सरेर झापा गइसकेका छन् । सुक्खाले प्रभावित यस स्थानको जङ्गल वर्षा नहुँदा अत्यधिक सुक्खा बनेको थियो ।

तमोर नदीको तटबाट लागेको आगो यसरी मडारिएर आयो कि हरिया रुखहरू नै आधाआधी जले । आगो लागेपछि हुरीबतास उत्तिकै चल्यो । आगोको लप्का जङ्गल नजिकैका घरसम्म पुग्यो । ठूल्ठुला टारका बीचमा रहेका घरमा आगोले सल्किएका रुखका पातहरू पुगे । क्षणभर मै हात्तीखर्क उजाडियो । जङ्गलबाट चार सय मिटर टाढासम्मका घरमा आगो लाग्यो ।

घरबारविहीन भएपछि लौरो टेकेर राहत सामग्री बुझिरहेका घिसिङका लागि यो घटना एक आश्चर्यजनक लागिरहेको छ । “जिजुबाजेदेखि बसेको घरमै म बसिरहेको थिएँ । यस्तो अवस्था मैले कहिल्यै सोचेको थिइनँ”, उनले भने । यसपालि आगो लाग्नु स्वाभाविक भए पनि आगलागीले यो हदको क्षति गर्ला भन्ने कसैको कल्पनासमेत थिएन । “यो ठाउँ नै औल हो । पहिले निकै पानी पथ्र्यो । भदौदेखि पानीको छिटा देखेको छैन । झिल्को बल्नासाथ सबै सल्कियो”, घिसिङले भने ।

पहिले यहाँको बस्ती बाक्लो थियो । अहिले आगलागी भई जलेका १४ मध्ये पाँच घर खाली थिए । वयोवृद्ध घिसिङ गाउँका आधाजस्तो बसाइँ सरेर गएको बताउछन । “तर, आफ्नै घर गएपछि सबै सकियो नि !”, निराश र हतास हुँदै  उनले भने ।

वयोवृद्ध घिसिङको मात्रै होइन, घर जलेपछि मायादेवी तामाङको दुःख झनै पीडादायी छ । मायाका श्रीमान् मानसिक समस्याका कारण थलिएको लामो समय भयो । जङ्गलको आगोले ठूलो क्षति गर्ला कि भन्ने चिन्ताले मायाको मन पिरोलिरहेको थियो । क्षणभरमा घर नजिकै डाँडामा आगो आइपुग्यो । हेर्दाहेर्दै उनको दुई वटा घर जले ।

“सरसामान, लुगाफाटो केही निकाल्न पाइनँ । श्रीमान्को उपचार गर्न पैसा ठिक्क पारेकी थिएँ”, आँसुुमिश्रित आवाजमा  उनले भने , “छोरीको भर्खर बिहे गरेका थियौँ, विवाहको पैसा पनि घरमै थियो । त्यो केही बाँकी रहेन ।” मायाको घरमा रहेको रु एक लाख ५० हजारभन्दा बढी नगद आगलागीमा जलेको छ । मानसिक समस्या भएका श्रीमान्लाई दिइराख्ने औषधि र औषधि खरिद गर्ने रकम जलेपछि अब के गर्ने भन्ने मायादेवीसँग कुनै विकल्प छैन ।

सोही स्थानकी जुनुमाया घिसिङले हलगोरु बाहेक घरको कुनै सामग्री निकाल्न  सकिन्न । “दशै मिनेटमा घर जलेको । घर–घर छुट्टयाई छुट्टयाई जले”, घिसिङले भनिन , “हामी त बर्बादै भयौँ नि !”

गायक उदीतनारायण झाको स्वरको गीतको एक हरफ निकै चर्चित छ –

दुःखीलाई कहिलेकाँही भुल्दा रैछन् देउता पनि
भन्दथे जसले मलाई भाग्यमानी, दिएनन् साथ दुई पाइला पनि … ।

हात्तीखर्कको उजाडिएको बस्तीका सबैलाई यो गीत सायदै उपयुक्त लाग्ला । हुन पनि आफ्नो उत्पादनले आधा वर्ष खान नपुग्ने परिवारहरूको वासस्थान र श्रीसम्पत्ति क्षणभरमै उजाडिएको छ ।

तर हात्तीखर्क मात्रै होइन, पूर्वी पहाडको तमोर तटीय क्षेत्रका सबै नागरिकको साझा समस्या आगलागी हो । वर्षा कम हुँदै जाँदा वर्षको कम्तीमा छ महिना यस क्षेत्रमा पानी पर्न छाडेको छ । यस क्षेत्रमा हिउँदको समयमा वर्षा हुन छाडेको लामो समय भइसक्यो । जसका कारण सुक्खा बनेको वन जङ्गलमा झिल्को बल्नासाथ सिङ्गो जङ्गल नै आगोको ज्वालामा परिणत हुनेछ । यी स्थानमा न अग्निरेखा निर्माण गरिएका छन् न पोखरी÷प्लास्टिक पोखरी निर्माण गर्ने प्रयास नै ।

अर्कातर्फ जङ्गलछेउका बस्तीमा खर (फुस)को छानो लगाउने गरिएको छ । खरको छानो भएकै कारण यस क्षेत्रका १४ घर एकैसाथ जलेका हुन् । हात्तीखर्कमा जस्तापाता लगाएको घर जस्ताको तस्तै देख्न सकिन्छ भने खरको छानो भएका घर जलेका छन् ।

सुक्खा बनेको छानोमा एक झिल्को पर्नासाथ ह्वारह्वारी आगो दन्किएको आठराई गाउँपालिका–६ का वडाध्यक्ष कृष्ण बाँस्कोटाको भनाइ छ । “पाँच वटा घर जलिसक्दा म त्यहाँ (हात्तीखर्क) पुगेको थिएँ । देख्दादेख्दै सबै घर जले”, बाँस्कोटाले भने , “हामीसँग आगो नियन्त्रण गर्ने कुनै उपाय थिएन ।” खरको छानो हटाउन नसक्दा ठूलो क्षति भएको उनको भनाइ छ ।

जङ्गल छेउका बस्ती, खरको छानो र सुक्खाको संयोगले तमोर तटीय क्षेत्रमा हरेक वर्ष क्षति हुने गरेको छ । सोमबार मात्रै पाँचथरको कुम्मायक गाउँपालिका–१ साठीमुरे जङ्गलमा लागेको आगो यसरी नै बस्तीमा पस्दा स्थानीय वसन्तकुमार चाम्लिङ र छत्रबहादुर चाम्लिङको घर जलेर नष्ट भयो । यस्तै घटनाले बस्ती नै सखाप पारेको उदाहरण पाँचथरको कुम्मायक–५ स्याबरुम्बा र हिलिहाङ–७ पाखागाउँ पनि हुन् । केही वर्षअघि ती आगलागीमा यहाँका सिङ्गो बस्ती नै खरानी भएका थिए । हिलिहाङ–७ मा त जङ्गलमा लागेको आगोको लप्काले भेट्दा दुई जना स्थानीयवासीको ज्यान नै गएको थियो ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायब उपरीक्षक राजन चापागाईं जङ्गलमा आगलागी भएपछि छेउछाउका घर जोगाउन मुस्किल पर्ने बताए । “जङ्गलमा आगो लागे खबर गर्न अनुरोध गर्दै आएका छौँ । खबर आउनासाथ गएर निभाउछौँ पनि”, चापागाईंले भने , “कतिपय ठाउँमा भने आफैँलाई पनि जोखिम हुने अवस्था आउने रहेछ ।” सुक्खा ठाउँमा स्थानीयवासी नै सचेत हुनुको विकल्प नरहेको उनको भनाइ छ ।

हात्तीखर्कको आगलागीको अवलोकन गरेकी कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापो सुक्खा क्षेत्रमा आगलागीबाट घरबार बचाउने सबैभन्दा उपयुक्त विकल्प नै खरको छानो हटाउनु आवश्यक रहेको बताउछिन । “जस्तापातामा हत्तपत्त आगो नसल्किने रहेछ”, तुम्बापोले भनिन , “सकेसम्म जस्तापाता लगाउने प्रबन्ध गर्नु उपयुक्त देखिन्छ ।”

आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम (लिम्बू) पनि हात्तीखर्कजस्ता क्षेत्रलाई आगलागीबाट बचाउने उपयुक्त विकल्प फुसको छानोमुक्त घर नै रहेको बताउछन ।

यद्यपि कमजोर आर्थिक अवस्थाका कारण यस क्षेत्रका धेरै सर्वसाधारणले जस्तापाता लगाउन सकेका छैनन् । सरकारले विगतमा सञ्चालन गरेको सुरक्षित नागरिक आवास कार्यक्रमले यस क्षेत्रका कतिपय घरमा जस्तापाता लगाइए पनि पूर्ण भने हुन सकेको छैन । जसका कारण जङ्गलमा लागेको आगोले निकै टाढाका घरगोठ जलाउने गरेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img