सुनसरी | इटहरी उपमहानगरपालिका-६, टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटो बनाउँदै भेटिएका छन्। पुख्र्यौली परम्परालाई निरन्तरता दिँदै, अनिलले लोहोरो, जाँतो, सिलौटो जस्ता ढुंगे सामग्री बनाएर मासिक रु ४० हजारसम्म आम्दानी गरिरहेका छन्।
“सिलौटो बनाउने हाम्रो पुख्र्यौली पेसा हो। तीन पुस्तादेखि चल्दै आएको यो कामलाई मैले पनि निरन्तरता दिएको छु,” अनिलले गर्वका साथ भने। उनका पितापुर्खाले थालेको परम्परागत पेशालाई उनले आधुनिक चुनौतीका बाबजुद पनि अगाडि बढाइरहेका छन्।
अनिल दिनभर खोला किनारमा बसेर सिलौटो बनाउने र इटहरी बजारमा बेच्छन्। उनी ढुंगे सामग्रीलाई थप आकर्षक बनाउन कलात्मक बुट्टाहरू पनि कुँद्छन्।
“विदेशमा दुःख गर्नुभन्दा यही पुख्र्यौली पेसाबाट परिवारलाई पालनपोषण गर्दै आएको छु। दिनभर काम गरेर साँझ घर फर्किन्छु, व्यापारले घरखर्च चलिरहेको छ,” उनले भने।
अनिल दैनिक तीनदेखि चार जोरसम्म लोहोरो र सिलौटो निर्माण गर्छन्। कहिलेकाहीं पाँच वटा सामान बेच्छन्, भने कहिलेकाहीं एउटा पनि बिक्दैन। यद्यपि, उनी निरन्तरता दिनमा दृढ छन्।
सिलौटो बनाउन चाहिने ढुंगाहरू उनी मोरङको केराबारी, जाँते, लेटाङ र धुलाबारीबाट ल्याउँछन्। तर, पछिल्लो समय आधुनिक कुटानी–पिसानीका उपकरणहरू बजारमा आएपछि परम्परागत पेसामा चुनौती थपिएको छ।
“पछिल्लो समय व्यापारमा सङ्कट देखिन थालेको छ। आधुनिक उपकरणले कुटानी–पिसानीको काम सजिलो बनाइदिएपछि हाम्रो व्यवसायमा असर परेको छ,” अनिलले भने।
यद्यपि, अनिल आफ्नो पुख्र्यौली पेसालाई निरन्तरता दिने कुरामा दृढ छन्। “यो पेसामा आत्मसन्तुष्टि पनि छ। पुख्र्यौली पेसाको संरक्षण र आम्दानी भएकाले यसलाई छाड्ने विचार छैन,” उनले थपे।
अनिलले सिलौटोको मूल्य रु ४०० देखि रु ५५० सम्म र जाँतोको मूल्य रु १००० देखि रु १३०० सम्म राखेका छन्। परम्परागत कला र पेसामा लगनशील रहेर उनले आफ्नो परिवारको जीविका चलाइरहेका छन्।
उनको मेहनत र समर्पणले पुख्र्यौली परम्परा मात्र बचाइरहेको छैन, स्थानीय समुदायलाई पनि उदाहरण प्रस्तुत गरिरहेको छ।



