मकवानपुर | बकैया गाउँपालिका–६ साततलेस्थित जनश्रम आधारभूत विद्यालयको वार्षिक उत्सवको अवसरमा शुक्रबार जेनजी मकवानपुरले विद्यालयका आर्थिक रूपमा कमजोर अवस्थाका ३५ जना विद्यार्थीलाई स्वेटर वितरण गरेको छ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको आर्थिक अवस्थालाई मध्यनजर गर्दै उक्त सहयोग गरिएको जेनजी मकवानपुरका संयोजक सुगम नेगीले जानकारी दिएका छन्। उनका अनुसार एक शिक्षकमार्फत प्राप्त सूचना तथा आवश्यकताको आधारमा विद्यार्थी छनोट गरी न्यानो कपडा वितरण गरिएको हो।
स्वेटर सहयोगले विद्यार्थीहरूलाई जाडोबाट जोगाउने न्यानोपन मात्र नभई आत्मबल, आशा र पढाइप्रतिको उत्साह बढ्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।
विद्यालयका प्रधानाध्यापक राजकुमार रुम्बाले शिक्षा र विद्यार्थी हितलाई केन्द्रमा राखेर गरिएको यस किसिमको सहयोग सराहनीय रहेको बताए।
जेनजी आन्दोलनपछि गठित जेनजी मकवानपुर हाल सामाजिक क्षेत्रमा सक्रिय रूपमा काम गरिरहेको र वडा तहसम्म समिति गठन गर्ने प्रक्रिया अघि बढिरहेको संयोजक नेगीले बताए । उनका भने, “हाम्रो माग र एजेन्डाअनुसार समाजका लागि सकेको र सक्ने काम गर्दै आएका छौँ। युवाहरुले पैसा उठाएर स्वेटर वितरण गरेका हौँ ।”



