हेटौँडा । मकवानपुरको निजी क्षेत्रले रसुवा र नुवाकोटका बाढी प्रभावितका लागि करिब ३९ लाख रुपैयाँ बराबरको आठ टन राहत सामग्री जुटाएको छ । मकवानपुर उद्योग वाणिज्य संघले सामग्री जिल्ला प्रशासन कार्यालयमार्फत नुवाकोट पठाएको हो ।
संघका अध्यक्ष प्रमोदसिंह रानाभाटका अनुसार सामग्री मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई हस्तान्तरण गरिएको छ । नुवाकोटका स्थानीय तह र उद्योग वाणिज्य संघसँगको समन्वयमा पीडितलाई राहत वितरण गरिनेछ ।
राहतमा नयाँ लत्ताकपडा, ओढ्ने–ओछ्याउने सामग्री, खाद्यान्न, खानेपानी, सरसफाइका सामान, भाँडाकुँडा र ग्यास चुलो छन् । प्रयोगयोग्य सामान मात्र पठाउन कपडा दुई दिन लगाएर छानिएको र प्याकिङ गरिएको रानाभाटले बताए ।
कपडा तथा तयारी पोसाक व्यवसायी संघबाट मात्रै करिब २७ लाख रुपैयाँका नयाँ कपडा प्राप्त भएका छन् । करिब ९० बोरामा प्याक गरिएका सामग्रीमा बालबालिका र वयस्कका लुगा, ज्याकेट, साडी, पाइन्ट, तन्ना, सिरानीका खोल, झुल तथा सिरक–डसनालगायत छन् ।
युनिलिभर नेपाल लिमिटेडले चार लाख ७७ हजार रुपैयाँ बराबरका तीन हजार ६०० थान साबुन, तीन हजार ६०० थान दन्तमञ्जन र ६२५ थान कपडा धुने पाउडर दिएको छ ।
मकवानपुर अधिकृत विक्रेता व्यवसायी संघबाट चाउचाउ, बिस्कुट, भुजा, दालमोठ, फ्रुटी, खानेपानी र सरसफाइका सामान प्राप्त भएका छन् । भाँडा व्यवसायीले थाल, गिलास, कचौरा, डाडु–पन्यु, प्रेसर कुकर, डेक्ची, बाल्टी, विद्युतीय जग र १३ सेट ग्यास चुलोसहित करिब डेढ लाख रुपैयाँका सामग्री दिएका छन् ।
राहत सङ्कलनमा मकवानपुर सुनचाँदी व्यवसायी संघ, ग्रिल तथा स्टिल व्यवसायी संघ, ग्यास व्यवसायी संघ, हस्तकला व्यवसायी संघ र महिला उद्यमी विकास समितिलगायत संस्था सहभागी थिए ।
संघले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख पाँच हजार ५५५ रुपैयाँ जम्मा गरेको छ । नगद सङ्कलन जारी रहेको र आवश्यकताअनुसार राहत तथा विपद्सम्बन्धी काममा खर्च गरिने रानाभाटले जानकारी दिए ।




