सप्तरी । लगातार परेको वर्षाका कारण सप्तकोशी नदीमा बाढी आउँदा सप्तरीका करिब ५०० घर डुबानमा परेका छन्। बाढी बस्तीमा पसेपछि दुई हजारभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन्।
शुक्रबार रातिदेखि सप्तकोशीमा पानीको बहाव बढेपछि हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका बस्तीहरू जलमग्न भएका हुन्। जिल्ला प्रशासनका अनुसार हनुमाननगर कङ्कालिनी नगरपालिकाका वडा नम्बर ५, ७, १२ र १३ मा ४८३ घर र तिलाठी कोइलाडी गाउँपालिकाका वडा नम्बर ४ र ५ मा १७ घर डुबानमा परेका छन्।
बाढी प्रभावित परिवारका लागि तत्काल दुई छाक खानाको व्यवस्था गरिएको हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले जानकारी दिए। पानीको सतह घटेपछि प्रभावितको यकिन तथ्याङ्क सङ्कलन गरी थप राहत सामग्री वितरण गर्ने नगरपालिकाको तयारी छ।
नदीमा पानीको जलस्तर उतारचढाव भइरहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।




