काठमाडाैँ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई जनाको शव भेटिएको छ। सोमबार खोज तथा उद्धारका क्रममा वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला परेको हो।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार यसअघि आइतबार घटनास्थलबाटै छेबी भोटे र पासाङ भोटेको शव संकलन गरिएको थियो। योसँगै हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या चार पुगेको छ।
हिमपहिरोमा परी १० जना सम्पर्कविहीन भएको बताइए पनि यकिन संख्या भने अझै खुल्न सकेको छैन। जिल्ला प्रशासन कार्यालय मनाङले घटनाको विस्तृत विवरण संकलन गर्दै हराइरहेकाहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।




