काठमाडैँ । घट्दो जन्मदर र विवाहदरबाट चिन्तित सिंगापुर सरकारले आफ्ना कर्मचारीका लागि छुट्टै डेटिङ प्लेटफर्म सुरु गरेको छ। देशको प्रजनन दर इतिहासकै तल्लो बिन्दुमा झरेपछि सरकारले कर्मचारीलाई जोडी बाँध्न प्रोत्साहन गर्ने उद्देश्यले यो कदम चालेको हो।
सिंगापुरको सरकारी प्रविधि एजेन्सी ‘गभटेक’ले परीक्षणका रूपमा ‘फर्स्टडेट’ नाम दिइएको उक्त डेटिङ प्लेटफर्म सञ्चालनमा ल्याएको हो। हाललाई यो सुविधा २१ देखि ३५ वर्ष उमेर समूहका सरकारी कर्मचारीहरूका लागि मात्र उपलब्ध गराइएको छ।
सामान्य डेटिङ एपभन्दा सुरक्षित र फरक बनाउन यसमा विशेष प्रविधि अपनाइएको छ। एपमा नक्कली प्रोफाइल (फेक एकाउन्ट) बन्न नदिन प्रयोगकर्ताको पहिचान सिंगापुर सरकारको आधिकारिक डिजिटल आईडी प्रणाली ‘सिंगपास’मार्फत भेरिफाई गर्ने व्यवस्था मिलाइएको छ।
त्यस्तै, सही र उपयुक्त जोडी मिलाउनका लागि नोबेल पुरस्कार विजेता गणितीय सिद्धान्त ‘गेल–शाप्ले एल्गोरिदम’को प्रयोग गरिएको छ।
गएको वर्ष सिंगापुरको कुल प्रजनन दर इतिहासकै सबैभन्दा कम ०.८७ मा झरेको थियो। प्रजनन दर घट्दै जाँदा भविष्यमा जनसङ्ख्या सन्तुलन र श्रमशक्तिमा गम्भीर असर पर्ने भएपछि सरकारले आफ्नै कर्मचारीबाट परिवार बसाउने यो नयाँ पहल थालेको हो।




