काठमाडैँ। नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चुलिएका बेला पूर्वसभापति शेरबहादुर देउवा पक्षले आज (असोज १५ गते) देखि १५औँ महाधिवेशन अन्तर्गतको समानान्तर वडा अधिवेशन सुरु गरेको छ। संस्थापन पक्षले महाधिवेशनको प्रक्रिया अघि बढाएपछि असन्तुष्ट बनेको देउवा समूहले छुट्टै कार्यतालिका सार्वजनिक गरी अधिवेशन थालेको हो।
देउवा पक्षले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका तोकेको छ। सोही तालिका अनुसार असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मङ्सिर ४ गते प्रदेश अधिवेशन आयोजना गरिनेछ।
कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले तत्काल महाधिवेशन रोक्नुपर्ने देउवा पक्षको अडान थियो। तर, संस्थापन पक्षले असोज १८ गतेदेखि नै महाधिवेशन गर्ने गरी प्रक्रिया अघि बढाएपछि इतर समूहले पनि आपत्कालीन रूपमा समानान्तर अधिवेशनको बाटो रोजेको हो।
यता संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियाबाट वडादेखि केन्द्रसम्म ठूलो सङ्ख्यामा नयाँ पुस्ता नेतृत्वमा आउने देखिएको छ। यस प्रक्रियामार्फत देशभर झण्डै ४४ हजार युवा पदीय जिम्मेवारीमा पुग्ने अनुमान गरिएको छ।




