काठमाडाैँ। चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका चाडपर्वलाई लक्षित गरी तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार नाकाबाट मालवाहक सवारीसाधन आवतजावत गराउने गरी तयारी पूरा भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार यो नाका आजदेखि ३ गतेसम्म तीन दिन खुला रहनेछ। यो अवधिमा सर्वसाधारणको आवतजावत नभई केवल व्यापारिक कार्गो ट्रकहरूलाई मात्र सीमा पार गर्ने अनुमति दिइनेछ।
चाडपर्वको समयमा बजारमा अत्यावश्यक वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले तत्कालका लागि नाका अस्थायी रूपमा खोल्न लागिएको हो। लामो समयदेखि सुरक्षा चासो, बाढीपहिरो र सडक अवरोधका कारण नाका बन्द रहँदै आएकोमा हालै चिनियाँ पक्ष खोल्न सकारात्मक भएपछि यो व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित नेपाल-चीन सीमामा रहेको तातोपानी नाका नेपाल र चीनबीचको द्विदेशीय व्यापारका लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। तीन दिनको यो अस्थायी सञ्चालनले चाडपर्वका बेला चीनबाट आउने आयातित सामानको आपूर्तिमा राहत पुग्ने अपेक्षा गरिएको छ


