काठमाडाैँ । बढ्दो महँगी, विद्यालयमा शिक्षक अभाव र कमजोर पूर्वाधारको विरोधमा फ्रान्सभर भएको प्रदर्शन हिंसात्मक बनेको छ। देशव्यापी अशान्ति नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म १ हजार २०० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ।
करिब ५ लाख ५० हजार नागरिक सडकमा उत्रिएको उक्त आन्दोलनका क्रममा देशका विभिन्न सहरहरूमा झडप र तोडफोड भएको छ। झडपमा परी कम्तीमा १५० जना प्रहरी घाइते भएको फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
राजधानी पेरिससहित लिमोज, लियोन, सेन्ट-इटियेन र लिल लगायतका सहरमा प्रदर्शनकारी र दङ्गा नियन्त्रण प्रहरीबीच झडप भएको हो। पेरिसको ‘प्लेस डे ला रिपब्लिक’ लगायत क्षेत्रमा सवारीसाधनमा आगो लगाइएको छ भने दर्जनौँ पसलमा तोडफोड र लुटपाट भएको छ। भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र लाठीचार्ज प्रयोग गरेको छ। लिमोजमा टाउन हल भवनको छाना आगजनीबाट भत्किएको छ भने लियोनको ऐतिहासिक पर्यटकीय कार्यालयमा समेत क्षति पुगेको छ।
सुरुमा १५ देखि १८ वर्ष उमेर समूहका विद्यार्थी अध्ययन गर्ने माध्यमिक विद्यालयमा शिक्षक अभाव र पूर्वाधार सुधारको माग राख्दै विद्यार्थीहरूले आन्दोलन थालेका थिए। पछि उक्त आन्दोलनमा ट्रेड युनियनहरू र सन् २०१८ मा महँगीविरुद्ध प्रदर्शन गरेको ‘एलो भेस्ट’ समूह समेत जोडिएपछि प्रदर्शन विशाल बनेको हो।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि फ्रान्सका शिक्षामन्त्री एडुवार्ड जेफ्रेले गत अक्टोबर ८ मा ३ हजार अस्थायी शिक्षक थप गर्ने घोषणा गरेका थिए। तर, उक्त घोषणाले पनि प्रदर्शनकारी शान्त नभएपछि आन्दोलनले उग्र रूप लिएको हो।
राष्ट्रपति इमानुएल म्याक्रोँले आगजनी, तोडफोड र लुटपाटमा संलग्नलाई कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्। प्रधानमन्त्री लेकोर्नुले केही समूहले आगामी राष्ट्रपतीय निर्वाचनलाई लक्षित गरी हिंसा भड्काउन खोजेको आरोप लगाएका छन्।
यता वामपन्थी नेता जिन-लुक मेलान्शोनले लुटपाट र तोडफोडको विरोध गर्दै प्रहरी दमन बन्द गर्न आग्रह गरेका छन्। अर्कोतर्फ, दक्षिणपन्थी नेतृ म्यारिन ले पेनले प्रदर्शनकारीका जायज मागलाई अति-वामपन्थीहरूले दुरुपयोग गरेर हिंसा मच्चाएको टिप्पणी गरेकी छन्।


