काठमाडाैँ । बागमती प्रदेश सरकारले प्रदेश मातहतका विभिन्न मन्त्रालय र निकायमा कार्यरत ३३६ जना प्रशासनिक तथा प्राविधिक कर्मचारीको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको छुट्टाछुट्टै निर्णयबाट यी सरुवा गरिएका हुन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कात्तिक १७ र १८ गतेको निर्णयअनुसार २१५ जना कर्मचारीको सरुवा गरिएको छ। जसमध्ये प्रदेश इन्जिनियरिङ सेवाका २२ जना कार्यालय प्रमुख, ५१ जना नायब सुब्बा तथा सहायक अधिकृत र १४२ जना शाखा अधिकृत तथा वरिष्ठ शाखा अधिकृत तहका कर्मचारी रहेका छन्।
त्यस्तै, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले सचिवस्तरीय निर्णयमार्फत आफ्ना मातहतका १४३ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालय मातहतका खानेपानी तथा सिँचाइ डिभिजन कार्यालयमा कार्यरत कर्मचारीलाई नयाँ जिम्मेवारी दिइएको छ।
एकैपटक ठूलो संख्यामा कर्मचारी सरुवा भएसँगै प्रशासनिक वृत्तमा भनसुन र पहुँचको चर्चा सुरु भएको छ। पहुँचवाला कर्मचारीहरू काठमाडौँ उपत्यका, हेटौँडा, चितवन र काभ्रेजस्ता सुगम जिल्लामा सरुवा हुन सफल भएका छन् भने पहुँचविहीन र दुर्गममा कार्यरत कर्मचारीलाई पुनः विकट क्षेत्र वरपर नै सीमित पारिएको गुनासो बढेको छ।


