मकवानपुर । कात्तिक कृष्ण त्रयोदशीका दिन आज देशभर यमराजको दूतका रूपमा कागको पूजा आराधना गरी काग तिहार मनाइँदैछ। यमराजले लोकको सम्पूर्ण खबर कागका माध्यमबाट थाहा पाउने भएकाले यमदूतका रूपमा कागलाई मीठा खानेकुरा दिएर खुशी पार्ने शास्त्रीय मान्यता रहिआएको छ।
काग तिहारका अवसरमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकाको कागेश्वरी मन्दिरमा आज विशेष पूजा आराधना गरिँदैछ।
यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक तथा धनतेरस पर्व भने अघिल्लो दिन (शुक्रबार) बेलुकीदेखि नै सुरु भइसकेको छ।
तालिका अनुसार भोलि (शनिबार) नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ। पर्सि कात्तिक २३ गते गाईपूजा तथा २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा र म्हपूजा मनाइनेछ। २४ गतेदेखि नै नेपाल संवत् ११४७ सुरु हुनेछ। यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार भाइटीका मनाइनेछ, जसका लागि बिहान ११ बजेर ७ मिनेटको साइत उत्तम मानिएको छ।


