मकवानपुर।मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा स्थानीय नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज (शुक्रबार) शोक बिदा दिएको छ।
गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवद्वारा जारी सूचनाअनुसार दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पालिकाभरि एक दिन शोक बिदा दिइएको हो। बिदाका कारण गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, सामुदायिक तथा संस्थागत विद्यालय र सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय बन्द रहेका छन्। यद्यपि, स्वास्थ्य संस्थाका आकस्मिक सेवा भने नियमित सञ्चालनमा रहने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई जनही ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत गरेको छ।
भीमफेदीमा भएको उक्त माइक्रोबस दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका मात्र एक गर्भवती महिलासहित १३ जनाको मृत्यु भएको थियो। छठ पर्व मनाउन घर फर्किंदै गरेका आफन्तको एकैपटक निधन भएपछि अहिले सुन्दरपुर गाउँ शोकमग्न बनेको छ।


